ढोरपाटन आँखा शिविर: एक हजारभन्दा बढी लाभान्वित, ८५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
बाग्लुङ, १७ कात्तिक । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामीले सेवा लिएका छन् ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको यो शिविरमा निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका र ढोरपाटन नगरबासी लाभान्वित भएका हुन् ।
शिविरमा आँखा परीक्षणसँगै मोतियाबिन्दुको शल्यक्रिया समेत गरिएको थियो । परीक्षणका क्रममा मोतियाबिन्दु देखिएका ८५ जनाको सफल शल्यक्रिया गरियो भने परेला आँखाभित्र पसेका दुईजनाको उपचार गरियो । आँखामा जटिल समस्या भएका १३ जनालाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा ‘रिफर’ गरिएको थियो ।
हिमालय आँखा अस्पताल पोखरामा कार्यरत जलविन्दु विशेषज्ञ डा. अनिल पराजुली लगायतका चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले शिविरमा आँखा परीक्षण, उपचार र शल्यक्रिया गरेको थियो । निसीखोला–१ का कुमबहादुर मल्लले आफूलाई पायक पर्ने स्थानमा आँखा शिविरमार्फत सेवा प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भने, “आँखामा समस्या हुँदै आएको थियो । परीक्षण गराउँदा मोतियाबिन्दु भएको देखियो । शल्यक्रिया भयो । अहिले आँखाको ज्योति फर्किँदा यो भन्दा आनन्दको क्षण के होला ?”
लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष तेजिन्द्र खत्रीका अनुसार, शिविरमा ४९५ जनालाई आवश्यकताका आधारमा चस्मा वितरण गरियो भने ३२४ जनालाई औषधि वितरण गरियो । अन्यलाई आँखा जाँचसँगै आवश्यक परामर्श दिइएको थियो ।
दुर्गम भूगोल, आर्थिक समस्या र चेतनाको अभावका कारण आँखाको समस्या पालेर बसेका नागरिकको सहजताका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको अध्यक्ष खत्रीले बताए । उनले भने, “ग्रामीण भेगका नागरिकले आँखामा सामान्य समस्या भयो भने पोखरा, काठमाडौंका अस्पतालमा जानुपर्ने अवस्था छ, त्यसलाई मध्यनजर गरी लायन्स क्लबले निःशुल्क शिविर संयोजन गरेको हो ।