इरानमा खानेपानीको चरम संकट : पश्चिम एसियाका लागि खतराको घण्टी

काठमाडौँ, कार्तिक १९ । इरानको राजधानी तेहरानमा खानेपानीको संकट गहिरिँदै गएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार आगामी दुई हप्ताभित्र तेहरानको मुख्य पानीको स्रोत पूरै सुक्ने खतरा बढेको छ । तेहरानमा पानी आपूर्ति गर्ने कम्पनीका निर्देशक बेहजाद पारसाले कबीर बाँधमा अब १४ मिलियन क्यूबिक मिटर मात्र पानी बाँकी रहेको बताएका छन् । एक वर्षअघि यही समयमा ८६ मिलियन क्यूबिक मिटर पानी रहेको थियो । निर्देशक पारसाले यो पानीले तेहरानको माग दुई हप्ता मात्रै धान्न सक्ने चेतावनी दिएका छन् ।

तेहरानले लामो समयदेखि खडेरीको सामना गरिरहेको छ, जसका कारण दशकौँयताकै ठूलो जल संकट भोगिरहेको छ । एक स्थानीय अधिकारीका अनुसार अक्टोबरमा वर्षाको स्तर शताब्दीकै सबैभन्दा कम रेकर्ड गरिएको छ । इरानको सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्यूज एजेन्सीले आगामी महिनामा वर्षा नभए तेहरानमा खानेपानीको आपूर्तिमा गम्भीर चुनौती आउने बताएको छ ।

तेहरानका एक बासिन्दाले बीबीसी फारसीसँग कुरा गर्दै पानी कटौती र कम प्रेसरका कारण अपार्टमेन्टमा पानी चाँडै सकिने वा नआउने समस्या भएको बताए । यो अवस्था सामना गर्न निकै कठिन भएको र विशेषगरी गर्मीमा भीषण वायु प्रदूषणसँगै पानीको अभावले झनै समस्या बढाएको उनको भनाइ छ । “घरमा साना बच्चा वा वृद्ध छन् भने स्थिति झन् खराब हुन्छ, किनकि पानी आपूर्तिको समस्या कहिलेकाहीँ घण्टौंसम्म रहन्छ,” उनले भने ।

इरानभर पानीको कमीका कारण बारम्बार विद्युत कटौती हुँदा नागरिकमा निराशा बढ्दै गएको छ। जल संकटका कारण इरानको राजधानी तेहरानदेखि खुजेस्तान र सिस्तान-बलुचिस्तान प्रान्तका गाउँहरू पनि प्रभावित छन् । स्थानीय बासिन्दाहरूले पानी अभावको पीडा असह्य भएको बताएका छन् ।

लगातार पाँच वर्षदेखिको खडेरी र रेकर्डस्तरको गर्मीका कारण तेहरानमा भूमिगत धाराहरू (चापाकल) सुक्न थालेका छन् । विद्युत गृहका जलाशयमा समेत पानीको मात्रा इतिहासकै सबैभन्दा कम स्तरमा पुगेपछि अहिले इरानमा लोडसेडिङ सामान्य भइसकेको छ ।

डे जिरोको खतरा

अधिकारीहरूले केही हप्ताभित्र पानीको उपभोग भारी मात्रामा कटौती नगरिए तेहरानका केही क्षेत्रले ‘डे जिरो’ को सामना गर्नुपर्ने चेतावनी दिएका छन्। ‘डे जिरो’ को अर्थ घरहरूको पानीको लाइन क्रमशः काट्न थालिनेछ र पानीको आपूर्ति स्ट्यान्डपाइप वा ट्यांकरमार्फत गरिनेछ । यस अवस्थामा अस्पताल र अत्यावश्यक सेवाहरूलाई प्राथमिकता दिइनेछ भने घरायसी पानीको आपूर्तिमा कटौती गरिनेछ ।

यस्तो स्थितिमा खानेपानी वितरण विभागका कर्मचारीहरूले बारम्बार टोलमा पानीको वितरणमा खटिनुपर्नेछ। यसबाट धनाढ्य वर्गलाई त्यति असर नगरे पनि निम्न वर्गले भने निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।

इरानको पर्यावरण विभागका पूर्व उपप्रमुख प्रोफेसर कावेह मदनीले मानिसहरू आफूलाई अवस्थाअनुसार ढाल्ने भए पनि आगामी वर्ष पनि यस्तै सुख्खा भएमा झन् कठिन हुने चिन्ता व्यक्त गरेका छन् । यो संकटले पश्चिम एसिया क्षेत्रका लागि पनि खतराको घण्टी बजाइदिएको छ, जसले पानीको दिगो व्यवस्थापन र जलवायु परिवर्तनका चुनौतीहरूसँग जुझ्न तत्काल कदम चाल्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *