उडेको केही बेरमै दुर्घटना भयो अमेरिकी कार्गो जहाज : चार जनाको मृत्यु

काठमाडौँ, कार्तिक १९ । अमेरिकामा कार्गो जहाज दुर्घटना भएको छ । अमेरिकाको केन्टकी राज्यको लुइसभिलमा मंगलबार स्थानीय समयअनुसार साँझ ५:१५ बजे युएसपीएसको फ्लाइट २९७६ कार्गो विमान दुर्घटना भएको हो । अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनका अनुसार, दुर्घटनामा चालक दलका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ ।

जहाज लुइसभिल मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईको होनोलुलुका लागि उडेको थियो। उडेको केही बेरमै जहाजको पखेटामा आगो लागेको थियो । पखेटामा आगो लागेको केही क्षणमै जहाज विस्फोट भई औद्योगिक भवनहरू रहेको ठाउँमा खसेको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार, त्यहाँ रहेका संरचनाहरूमा पनि आगो लागेको थियो । लुइसभिलका मेयर ग्रिनबर्गले सामाजिक सञ्जालमार्फत जानकारी दिएअनुसार, जमिनमा रहेका कम्तीमा १९ जना घाइते भएका छन् । चालक दलका तीन सदस्यबाहेक मृत्यु भएका अर्का एक व्यक्ति त्यस क्षेत्रका स्थानीय हुन् । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

जहाज दुर्घटना भएको ठाउँ वरपर ८ किलोमिटरसम्मको क्षेत्रमा मानिसहरूलाई सुरक्षित रहन भनिएको छ । बीबीसीका अनुसार, उक्त कार्गो जहाजले ३८ हजार ग्यालिन इन्धन बोकेको थियो, जुन झन्डै १ लाख ४४ हजार लिटर बराबर हो । दुर्घटनाबारे अनुसन्धान सुरु भएको छ ।

रोयटर्सले जनाएअनुसार, जहाज ३४ वर्ष पुरानो एमडी–११ फ्रेटर मोडेलको थियो। यो विमान म्याकडोनेल डगलस कम्पनीले बनाएको हो, जुन पछि बोइङसँग विलय भएको थियो। बोइङले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धानमा प्राविधिक सहयोग पुर्‍याउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *