सुडानी अर्धसैनिक बल युद्धविराम प्रस्तावमा सहमत, डार्फरमा मानवीय सङ्कट गहिरिँदै
काठमाडौँ, कार्तिक २० । सुडानको अर्धसैनिक बल (आरएसएफ) ले बिहीबार मानवीय युद्धविरामको प्रस्तावमा सहमति जनाएको छ । दुई वर्षभन्दा बढी समयदेखि सरकारी सेनासँग लडिरहेको यो समूह विशेषगरी सुडानको डार्फर क्षेत्रमा सक्रिय छ । “सुडानी जनताको आकाङ्क्षा र हितको प्रतिक्रियामा, आरएसएफले ‘क्वाड’ देशहरू (संयुक्त राज्य अमेरिका, इजिप्ट, युएई र साउदी अरेबिया) ले प्रस्ताव गरेको मानवीय युद्धविराममा प्रवेश गर्ने आफ्नो सहमतिलाई पुष्टि गर्दछ,” आरएसएफले एक विज्ञप्तिमा भनेको छ।
सुडानको सेना–गठित सरकारले भने यस हप्ताको सुरुमा अमेरिकी युद्धविराम प्रस्तावमा आन्तरिक छलफलपछि युद्धलाई अगाडि बढाउने सङ्केत दिएको थियो ।
एल-फासरमा युद्ध अपराधको आशङ्का र मानवीय सङ्कट
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को अभियोजनकर्ताको कार्यालयले सुडानको एल-फासर शहरमा हालै भएका अत्याचारहरू युद्ध अपराध र मानवता विरुद्धको अपराध हुन सक्ने सङ्केत दिएको छ। आईसीसीका अभियोजकको कार्यालयले एल-फासरमा भएका सामूहिक हत्या, बलात्कार र अन्य अपराधका रिपोर्टहरूबारे ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ ।
आरएसएफले अक्टोबर २६ मा १८ महिनाको घेराबन्दी र बमबारीपछि एल-फासरमा नियन्त्रण जमाएको थियो । एल-फासर पश्चिमी डार्फर क्षेत्रमा सेनाको नियन्त्रणमा रहेको अन्तिम क्षेत्र मानिन्थ्यो। लामो समयदेखिको युद्धका कारण स्थानीयहरू आफ्नो दैनिक काम गर्न नसक्दा यहाँ चरम भोकमरीको अवस्था आएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार, युद्ध चर्किएपछि पछिल्ला केही दिनमा ६५,००० भन्दा बढी मानिसहरू एल-फासरबाट विस्थापित बनेका छन् । विस्थापितमध्ये लगभग ५ हजार व्यक्ति नजिकैको ताविलामा छन् भने दशौँ हजार अझै पनि युद्धग्रस्त क्षेत्रमा फसेका छन् । उनीहरू स्थानीय शिविरहरूमा बसिरहेका छन् । अन्तिम आक्रमण हुनुभन्दा पहिले लगभग २ लाख ६० हजार मानिसहरू एल-फासरमा बस्थे ।
