‘विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा कम राख्न असफल’ – महासचिव गुटेर्रेस
काठमाडौँ, कार्तिक २० । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार विश्वव्यापी तापक्रमलाई पूर्व-औद्योगिक युगको तुलनामा १.५ डिग्री सेल्सियसभन्दा कममा सीमित राख्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतामा ‘असफलता’ प्राप्त भएको बताउनुभएको छ ।ब्राजिलमा आगामी कोप–३० जलवायु सम्मेलनको पूर्वसन्ध्यामा बेलेममा आयोजित एक नेताहरूको छलफलमा बोल्दै गुटेर्रेसले दशकौँको ढिलाइ र वातावरणीय समस्यालाई अस्वीकार गर्ने प्रवृत्तिका कारण पेरिस सम्झौताको सबैभन्दा महत्वाकाङ्क्षी लक्ष्य प्राप्त गर्न नसकिएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “हामी तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने आफ्नो वाचामा ‘असफल’ भएका छौँ। यो विश्वका सबै राष्ट्रका लागि ठूलो लागत र विनाशको कारक बन्नेछ ।”
यस अवस्थालाई ‘नैतिक असफलता र घातक लापरवाही’ को सङ्ज्ञा दिँदै महासचिव गुटेर्रेसले जीवाश्म इन्धनको प्रयोगलाई चरणबद्ध रूपमा अन्त्य गर्ने जस्ता द्रुत कार्यहरूद्वारा विश्वले अझै पनि क्षतिलाई कम गर्न सक्ने सम्भावना रहेको तर यसका लागि सबै राष्ट्रहरूको तत्काल तत्परता आवश्यक रहेकोमा जोड दिनुभयो ।
`
