पाकिस्तानमा अफगान नागरिकमाथिको धरपकड र निर्वासन तीव्र
काठमाडौँ, कार्तिक २२ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को संयुक्त प्रतिवेदनअनुसार पाकिस्तानमा पक्राउ गरी हिरासतमा लिइएका अफगान नागरिकहरूको सङ्ख्या एकै हप्तामा १४६ प्रतिशतले बढेको छ । अघिल्लो हप्तामा ७ हजार ७६४ अफगान नागरिकलाई पक्राउ गरी हिरासतमा लिइएको थियो । जुन अघिल्लो हप्ताको तुलनामा उल्लेखनीय वृद्धि हो ।
अक्टोबर २६ देखि नोभेम्बर १ को अवधिमा पक्राउ परेका अफगान नागरिकमध्ये ७७ प्रतिशत कार्ड (एसीसी) र कागजातविहीन थिए भने २३ प्रतिशतसँग दर्ता प्रमाण (पिओआर) कार्ड थियो । प्रतिवेदनले ८६ प्रतिशत पक्राउ र नजरबन्द बलुचिस्तानमा भएको उल्लेख गरेको छ। सन् २०२५ जनवरीदेखि नोभेम्बरसम्म राष्ट्रव्यापी रूपमा चागी, अटक र क्वेटा जिल्लाहरूमा अधिकांश अफगानहरू पक्राउ गरिएको डन अखबारलाई उद्धृत गर्दै रिपोर्टमा जनाइएको छ ।
तथ्याङ्कले अक्टोबरको अन्तिम हप्तामा अफगानहरूको स्वदेश फिर्ती तथा निर्वासनको दर पनि तीव्र रूपमा बढेको उल्लेख गरेको छ । सन् २०२३ सेप्टेम्बरदेखि सन् २०२५ नोभेम्बरसम्म १ लाख ६७ हजार ७१३ अफगानहरू अफगानिस्तान फर्किएका छन् । प्रतिवेदनले सन् २०२३ अप्रिलदेखि ९३ प्रतिशत कागजातविहीन तथा ३९ प्रतिशत एसीसी कार्ड भएका अफगानहरू गिरफ्तारीको डरले स्वदेश फर्किएको जनाएको छ । गत जुलाईमा पाकिस्तानी अधिकारीहरूले अफगान नागरिकहरूलाई जुन ३० मा उनीहरूको कार्डको म्याद सकिएपछि सेप्टेम्बर १ सम्म पाकिस्तान छोड्नका लागि समयसीमा तोकेका थिए ।