ब्राजिलमा भीषण आँधी: पाँचको मृत्यु, १३० घाइते

काठमाडौँ, कार्तिक २२ । दक्षिणी ब्राजिलका विभिन्न भागमा शुक्रबार आएको भीषण आँधीका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ भने १३० जना घाइते भएका छन् । अधिकारीहरूले शनिबार यो जानकारी दिएका हुन् । स्थानीय मौसम सेवाका अनुसार, पराना राज्यको रियो बोनिटो डो इगुआकु नगरपालिकामा आँधीले गाडी पल्टाएको र घरहरूमा क्षति पुर्‍याएको छ। सिभिल डिफेन्सले जारी गरेको विज्ञप्तिमा पराना राज्यका विभिन्न स्थानमा आँधीको प्रभाव परेको एएफपीले जनाएको छ ।

स्थानीय उद्धार एजेन्सीका अनुसार, आँधीका कारण ३० जना गम्भीर र करिब १०० जना सामान्य घाइते भएका छन्। परानाको वातावरणीय प्रविधि र अनुगमन प्रणालीका अनुसार रियो बोनिटो डो इगुआकुमा १८० देखि २५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो ।  एजेन्सीले आँधीका कारण रूखहरू ढलेको र घरहरूमा क्षति पुगेको बताएको छ ।

परानाका गभर्नर रतिन्हो जुनियरले सामाजिक सञ्जाल एक्समा ‘सुरक्षाका लागि सेना परिचालन गरी गम्भीर आँधीबेहरीबाट प्रभावित सहरको निगरानी गरिरहेको’ बताउनुभएको छ । मौसम अधिकारीहरूका अनुसार परानाका साथै दक्षिणी राज्यहरू सान्ता क्याटरिना र रियो ग्रान्डे डो सुलका लागि थप खतरनाक आँधीबेहरीको चेतावनी जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *