ट्रम्पद्वारा २०२० को निर्वाचन परिणाम उल्ट्याउन खोजेको अभियोग लागेका गिउलियानीसहित ७० जनालाई आममाफी

काठमाडौँ, कार्तिक २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० को राष्ट्रपतीय निर्वाचनलाई बिथोल्ने प्रयास गरेको आरोप लागेका आफ्ना शीर्ष सहयोगीहरूलाई आममाफी दिनुभएको छ । ट्रम्प प्रशासनका ‘पार्डन एटोर्नी’ एड मार्टिनले एक्स (पहिले ट्विटर) मा जानकारी दिँदै राष्ट्रपतिका पूर्व वकिलहरू रुडी गिउलियानी र सिड्नी पावेल, ट्रम्पका पूर्व कर्मचारी प्रमुख मार्क मिडोजसहित ७० भन्दा बढी व्यक्तिहरूको सूची सार्वजनिक गर्दै उनीहरूलाई ‘पूर्ण र बिना शर्त’ माफी दिइएको बताउनुभएको छ ।

माफी पाउनेहरूको सूचीमा रहेका व्यक्तिहरू एरिजोना, जर्जिया र मिशिगनजस्ता चुनावी प्रतिस्पर्धा हुने राज्यहरूमा मतदाता नामावली परिवर्तन गर्ने योजनामा संलग्न थिए। यी राज्यहरूमा जो बाइडेनले २०२० को राष्ट्रपति दौडमा विजय हासिल गर्नुभएको थियो । ट्रम्प र उहाँका सहयोगीहरूको समर्थनमा भएको उक्त षड्यन्त्रले प्रदर्शनलाई बढावा दिन मद्दत गरेको थियो, जुन २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटल (संसद भवन) मा आक्रमण गर्ने दंगाग्रस्त भीडमा परिणत भएको थियो ।

चार पृष्ठको क्षमादानको पत्रमा नाम उल्लेख भएका कसैलाई पनि संघीय स्तरमा आरोप लगाइएको थिएन, तर यो निर्देशनले भविष्यका प्रशासनहरूलाई कथित सह-षड्यन्त्रमा संलग्न सहयोगीहरूलाई मुद्दा चलाउनबाट रोक्न सक्छ । माफी पाएकाहरूमा चुनाव परिणामको प्रमाणीकरण रोक्नका लागि रणनीतिहरू प्रस्ताव गरेका जोन इस्टम्यान र लामो समयदेखि ट्रम्पका सल्लाहकार रहेका बोरिस एप्स्टेन पनि रहेका छन् ।

ट्रम्पले लामो समयदेखि संघीय अपराधका लागि आफूलाई नै माफी दिने शक्ति उहाँसँग रहेको बताउँदै आउनुभएको थियो, तर उहाँले अझै पनि यो सिद्धान्तको परीक्षण गर्नुभएको छैन । २०२० को राष्ट्रपतीय निर्वाचनसँग सम्बन्धित वा मतदानमा धाँधली भएको पर्दाफास गर्ने प्रयासका लागि माफी दिने पत्रमा ट्रम्पले भन्नुभएको छ, “यो माफी अमेरिकी राष्ट्रपतिलाई लागू हुँदैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *