श्रीलङ्काका पूर्व पर्यटन मन्त्री प्रसन्ना रणतुङ्गा भ्रष्टाचार आरोपमा पक्राउ

कार्तिक २६, २०८२ । श्रीलङ्काका पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी र भ्रष्टाचारको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन् । भ्रष्टाचार अनुसन्धान आयोगले जारी गरेको विज्ञप्ति अनुसार, रणतुङ्गालाई सन् २०२१ मा उहाँको कार्यकालमा भएको भ्रष्टाचारको आरोपमा हिरासतमा लिइएको हो। यो मामिला पर्यटन मन्त्रालयअन्तर्गतका चार संस्थाका लागि नयाँ बीमा योजना खरिदसँग सम्बन्धित छ ।

आयोगका अनुसार, राज्यको स्वामित्वमा रहेको श्रीलङ्का बीमा निगम (एसएलआईसी) बाट सिधै खरिद गर्नुको सट्टा रणतुङ्गाले एक निजी कम्पनीमार्फत बीमा योजना खरिद गर्दा एसएलआईसीलाई ४.७ मिलियन रुपैयाँ (सन् २०२१ को विनिमय दरमा लगभग २४ हजार अमेरिकी डलर) को नोक्सान भएको थियो ।

पूर्व मन्त्री रणतुङ्गालाई बयानका लागि कोलम्बोको अदालतमा पेस गरिने आयोगले बताएको छ । रणतुङ्गाले यसअघि महिन्दा राजापाक्षे, गोटाबाया राजापाक्षे र रानिल विक्रमसिङ्घेको कार्यकालमा धेरै महत्त्वपूर्ण मन्त्री पदहरू सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *