अस्ट्रेलिया र इन्डोनेसिया बिच नयाँ सुरक्षा सन्धिमा सहमति : सैन्य सहकार्य सुदृढ हुने

कार्तिक २६, २०८२ । अस्ट्रेलिया र इन्डोनेसियाले नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर गर्न सहमति जनाएका छन् । यो सन्धिले दुई देशबीचको सैन्य सहयोगलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ। सिड्नीमा सम्पन्न उच्चस्तरीय वार्ता पछि दुवै देशका नेताहरूले संयुक्त रूपमा यसबारे जानकारी गराएका हुन् । अस्ट्रेलियाले एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलनमा राख्न आफ्नो रक्षा क्षमता विस्तार गर्दै र परम्परागत सहयोगी संयुक्त राज्य अमेरिकासँग सम्बन्ध गाढा बनाउँदै आएको छ । तर, इन्डोनेसियाले भने बेइजिङसँग सन्तुलित सम्बन्ध कायम राख्दै अपेक्षाकृत तटस्थ नीति अपनाउँदै आएको छ ।

सिड्नीको रोयल अस्ट्रेलियन नेभी बेसमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोसँगको संयुक्त पत्रकार सम्मेलनमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भन्नुभयो, “हाम्रो साझा सुरक्षालाई बलियो पार्ने उद्देश्यसहित नयाँ द्विपक्षीय सन्धिमा पर्याप्त प्रगति भएको छ। यो सन्धि शान्ति र स्थिरता सुनिश्चित गर्ने उत्तम उपाय सँगै काम गर्नु नै हाम्रो विश्वासको प्रतीक हो ।”

प्रधानमन्त्री अल्बानिजले आगामी वर्ष इन्डोनेसियाको भ्रमण गरी उक्त सन्धिमा औपचारिक रूपमा हस्ताक्षर गर्ने आशा व्यक्त गर्नुभयो। उहाँले यो नयाँ सम्झौता सन् २०२४ मा भएको द्विपक्षीय रक्षा सम्झौतामा आधारित रहेको र यसले विवादास्पद एसिया–प्रशान्त क्षेत्रमा दुवै देशबीचको सहकार्यलाई अझ गहिरो बनाउने बताउनुभयो ।

सन्धिअनुसार अस्ट्रेलिया र इन्डोनेसियाले सुरक्षा मामिलामा नियमित रूपमा प्रधानमन्त्री तथा मन्त्रिस्तरीय परामर्श गर्नेछन्। साथै, कुनै एक वा दुवै देशको सुरक्षा जोखिममा परेको अवस्थामा व्यक्तिगत वा संयुक्त रूपमा अपनाउन सकिने उपायहरूबारे छलफल र समन्वय गर्न पनि यसले अवसर प्रदान गर्नेछ ।

इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले पनि उक्त सम्झौता दुवै देशबीच ‘रक्षा र सुरक्षा क्षेत्रमा घनिष्ठ सहकार्य’ प्रवद्र्धन गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी छिमेकीहरू छनोट गर्न सक्दैनौँ, तर असल छिमेकीहरूले कठिन समयमा एकअर्काको साथ दिनुपर्छ । यही भावना यस सन्धिको मूलमा निहित छ ।”

नयाँ सुरक्षा सन्धि दुवै मुलुकका लागि साझा हित र क्षेत्रीय स्थिरताको आधारस्तम्भ बन्ने विश्वास व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *