चलचित्र उद्योगका नवप्रतिभा

‘सुम्निमा’ बाट सोल गुरुङको अभिनय यात्रा सुरु

काठमाडौँ, कात्तिक २७ । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत सोल गुरुङले अभिनयको दुनियाँमा पाइला टेक्नुभएको छ ।  चलचित्रको पहिलो चरणको छायाङ्कन बेलायतका विभिन्न शहरमा सम्पन्न भइसकेको छ भने दोस्रो चरणको छायाङ्कन नेपालमा हुने निर्देशक चाम्सले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारलाई अवसर दिनुपर्छ भन्ने मेरो सधैँको सोच हो। त्यसैले प्रायः मेरा चलचित्रमा प्रतिभाशाली नयाँ कलाकारहरूलाई मौका दिने गर्छु । यसपटक पनि बेलायतमा बस्दै आउनुभएकी गुरुङले चलचित्रमा मुख्य भूमिका निभाउनुभएको छ। चलचित्रमा उहाँको पात्रको नाम ‘सुम्निमा’ भएकाले चलचित्रको नाम पनि सोही राखिएको हो  ।”

निर्देशक चाम्सका अनुसार ‘सुम्निमा’ कुनै धर्म वा संस्कृतिमा आधारित नभई विशुद्ध प्रेमकथामा केन्द्रित चलचित्र हो। यस चलचित्रमा सोल गुरुङसँगै कुन्साङ बमजन, अनुपविक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बालगायतका कलाकारहरूको अभिनय रहेको छ । गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण भइरहेको ‘सुम्निमा’ अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी तयार भइरहेको निर्देशक चाम्सले जानकारी दिनुभयो ।

“हामीले बजार विस्तार र दर्शक वृद्धिबारे सोचेर चलचित्र बनाउनुपर्छ। यसरी काम गरेमा मात्र नेपाली चलचित्र क्षेत्रका लागि आगामी दिनहरू सुनौला हुनेछन्,” निर्देशक चाम्सले भन्नुभयो । यसअघि उहाँले निर्देशन गर्नुभएको चलचित्र ‘गोर्खा वारियर’ बेलायतको एक चलचित्र भवनमा ‘आइम्याक्स’ प्रविधिमा विशेष प्रदर्शन गरिएको थियो। नेपाली चलचित्रलाई ‘आइम्याक्स’ प्रविधिमा ढालेर प्रदर्शन गरिएको त्यो पहिलो पटक थियो ।

निर्देशक चाम्सको पछिल्लो सफल चलचित्र ‘अञ्जिला’ थियो। उक्त चलचित्र महिला फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित थियो ।