प्रचारप्रसार र पूर्वाधारको पर्खाइमा धार्मिक तथा पर्यटकीय गन्तव्य पार्वतीकुण्ड
काठमाडौँ, कार्तिक २० । धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको रसुवाको पार्वतीकुण्ड आवश्यक पूर्वाधार र प्रभावकारी प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा रहेको यो हिमाली तीर्थस्थल हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र हुनुका साथै तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम पनि हो ।
आमाछोदिङ्मो गाउँपालिका ३ गत्लाङको शिरमा अवस्थित पार्वतीकुण्ड धार्मिक तथा पर्यटकीय महत्वका दृष्टिले विशेष पहिचान बोकेको क्षेत्र हो । स्थानीय तामाङ भाषामा पार्वतीलाई ‘आमा’ र ताललाई ‘छोदिङ्मो’ भनिन्छ । यही स्थानीय भाषा र मौलिक पहिचानलाई सम्मान गर्दै गाउँपालिकाको नाम आमाछोदिङ्मो राखिएको हो । कुनै समय ‘कालो छाना भएको गाउँ’ भनेर चिनिने गत्लाङको उत्तरतर्फ रहेको यस कुण्डका नामबाट सुरुमा गाउँपालिकाको नाम पार्वतीकुण्ड राखिएको थियो । पछि पहिलो निर्वाचित गाउँसभाको सिफारिसमा स्थानीय भाषा र पहिचानलाई प्राथमिकता दिँदै नाम परिवर्तन गरी आमाछोदिङ्मो कायम गरिएको थियो ।
गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङका अनुसार पार्वतीकुण्ड प्राकृतिक सौन्दर्यको आकर्षक गन्तव्य मात्र नभई हिन्दू र बौद्ध धर्मावलम्बीको ऐतिहासिक तथा धार्मिक धरोहर पनि हो । उहाँले यहाँ अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने सम्भावना रहे पनि भौतिक पूर्वाधार र राष्ट्रियस्तरको प्रचारप्रसार अभावमा अपेक्षित पर्यटक भित्र्याउन नसकिएको बताउनुभयो । गाउँपालिकाले स्थानीयस्तरमा संरक्षण तथा प्रवर्द्धनका प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले यसको समग्र विकासका लागि सङ्घीय र प्रदेश सरकारको बजेट तथा रणनीतिक योजनाको आवश्यकता औँल्याउनुभयो ।
पार्वतीकुण्डको उत्पत्ति र धार्मिक महत्वबारे हिन्दू तथा बौद्ध धर्मावलम्बीका आआफ्नै धार्मिक आख्यान प्रचलित छन् । हिन्दू धार्मिक किंवदन्तीअनुसार यसको सम्बन्ध गोसाइँकुण्डको उत्पत्तिसँग जोडिएको छ । समुद्र मन्थनबाट निस्किएको हलाहल विषको डाह शान्त पार्न भगवान् शिवले नीलकण्ठ बनेर गोसाइँकुण्ड निर्माण गर्नुभएको र उहाँको खोजीमा माता पार्वती यस स्थानमा विराजमान हुनुभएको स्थानीय जनश्रुति छ । यही विश्वासका आधारमा पार्वतीकुण्डलाई पवित्र तीर्थस्थलका रूपमा पूजा गर्ने गरिएको छ । यहाँ स्नान गरे मोक्ष प्राप्त हुने जनविश्वास छ । मानसरोवरको तीर्थयात्रा गरेर फर्कने भारतीय तीर्थयात्रीसमेत यहाँ स्नानका लागि आउने गरेका छन् । भारतको हिमाञ्चलस्थित प्रसिद्ध धार्मिकस्थल छोपेमासँग पनि यस कुण्डको पौराणिक सम्बन्ध रहेको विश्वास गरिन्छ ।
बौद्ध धर्मावलम्बीले पनि पार्वतीकुण्ड क्षेत्रलाई पवित्र तपोभूमिका रूपमा लिने गरेका छन् । गुरु पद्मसम्भव अर्थात् गुरु रिम्पोछेले मानव समुदायको सुख, शान्ति र मुक्तिका लागि यस हिमाली क्षेत्रमा तपस्या गर्नुभएको धार्मिक विश्वास छ । तपस्याका क्रममा स्नानका लागि आवश्यक पवित्र जल यहाँका विभिन्न जलाशयमध्ये पार्वतीकुण्डमा सबैभन्दा शुद्ध रहेको विश्वास रहेको गत्लाङका स्थानीय अविनाश तामाङ बताउनुहुन्छ ।
धार्मिक महत्वसँगै पार्वतीकुण्ड तामाङ संस्कृति, परम्परा र हिमाली प्राकृतिक सौन्दर्यका दृष्टिले पनि आकर्षक गन्तव्य हो । स्थानीय फुर्पुसिङ्गी तामाङका अनुसार यो प्रसिद्ध तामाङ सम्पदा मार्गमा पर्दछ । यहाँ आउने पर्यटकले तामाङ समुदायको मौलिक संस्कृति, परम्परागत वेशभूषा र रैथाने जीवनशैलीलाई नजिकबाट अनुभव गर्न सक्छन् । कुण्ड वरपर रहेका गुराँस, खस्रु तथा अन्य वनस्पतिले यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएका छन् ।
कुण्डनजिकै रहेको प्राकृतिक दृश्यावलोकनस्थल ‘ज्यार्सा भ्यूप्वाइन्ट’बाट लाङटाङ, गणेश, मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण र जुगुलगायतका हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । त्यहाँबाट चीनतर्फका हिमाल, काठमाडौँ उपत्यकाको केही भाग र त्रिशूली नदीको दृश्यसमेत देखिन्छ । पार्वतीकुण्डभन्दा माथिल्लो भागमा रहेको दूधकुण्डलाई स्थानीय धार्मिक मान्यताअनुसार पार्वतीकुण्डको दिदीबहिनीका रूपमा लिने गरिन्छ ।
यस क्षेत्रमा ऐतिहासिक महत्व बोकेको प्राचीन बोङ्जो घले दरबारको भग्नावशेष, पार्वती मन्दिर तथा नेपाली सेनाको ब्यारेकसमेत रहेका छन् । सान्जेन खर्क, सान्जेन हिमाल, गणेश हिमाल, सोमदाङ हुँदै धादिङका विभिन्न बस्ती पुग्ने पदमार्गका कारण पनि यो क्षेत्र पदयात्रा पर्यटनका लागि महत्वपूर्ण मानिन्छ ।
पार्वतीकुण्ड क्षेत्र विकास समितिले पर्यटकलाई स्थानीय संस्कृति र परम्परासँग परिचित गराउन तामाङ समुदायमार्फत मौलिक सांस्कृतिक झाँकी, म्हेन्दोमाया र सेलोलगायत परम्परागत नृत्य प्रस्तुत गर्दै आएको छ । यस्ता सांस्कृतिक गतिविधिले धार्मिक यात्रामा आउने पर्यटकलाई स्थानीय जीवनशैली र सम्पदाको अनुभव गराउने गरेको छ ।
प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले सम्पन्न पार्वतीकुण्डको संरक्षण, व्यवस्थित पूर्वाधार निर्माण र प्रभावकारी प्रचारप्रसार हुन सके यसलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको अपेक्षा छ । पर्यटन प्रवर्द्धनले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र स्थानीयवासीको आर्थिक जीवनस्तर सुधारमा समेत योगदान पुर्याउन सक्ने देखिन्छ ।
तर, गत भदौ १० गतेको भोटेकोशी बाढीले सडक सञ्जालमा क्षति पुर्याएपछि पार्वतीकुण्ड पुग्ने पर्यटकको आवागमन थप प्रभावित भएको छ । सडक पूर्वाधारमा भएको क्षतिले यस क्षेत्रको पर्यटन गतिविधि सुस्त बनाएको स्थानीयको भनाइ छ । धार्मिक आस्था, हिमाली सौन्दर्य र मौलिक संस्कृतिको पहिचान बोकेको पार्वतीकुण्डलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न अब प्रचारप्रसारसँगै सडक तथा अन्य आधारभूत पूर्वाधार विकासमा सरकारी प्राथमिकता आवश्यक देखिएको छ ।
