बंगलादेशको राजधानी ढाकामा कट्टरपन्थीहरूको शक्ति प्रदर्शन
काठमाडौँ, कार्तिक २९ । बंगलादेशको राजधानी ढाकामा शनिबार दशौं हजार प्रदर्शनकारीहरू भेला भएर चुनावअघि कट्टरपन्थीहरूको शक्ति प्रदर्शन गरेका छन्। यस क्रममा उनीहरूले एउटा सानो मुस्लिम सम्प्रदायका अनुयायीहरूलाई काफिर घोषित गर्न माग गरेका छन् ।सुफीवादको एक शाखाका अनुयायी अहमदिया समुदायको १९ औं शताब्दीमा भारतमा उत्पत्ति भएको थियो। भारत-पाकिस्तान विभाजनपछि पाकिस्तान र त्यसपछि बंगलादेश-पाकिस्तान विभाजनपछि उनीहरू बंगलादेशमा पुगेका थिए। मुस्लिम बहुल बंगलादेशमा उनीहरू लामो समयदेखि उत्पीडनमा पर्दै आएका छन् ।
गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएको क्रान्तिमा पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि देशभरि अल्पसंख्यक सम्प्रदायका सदस्यहरूलाई लक्षित गरी भीडले आक्रमण गरेको थियो। हसिनाको निरंकुश शासनमा दबाइएका कट्टरपन्थी इस्लामिक समूहहरू आगामी फेब्रुअरीमा हुने आम चुनावमा आंशिक रूपमा प्रगति गर्ने आशामा पछिल्ला केही दिनदेखि आन्दोलित बनेका छन् ।
शनिबार ढाकाको मुटुमा आयोजित यस प्रदर्शनमा भारत, पाकिस्तान, साउदी अरब र इजिप्टका राजनीतिक नेता र वरिष्ठ इस्लामिक प्रचारकहरू पनि उपस्थित थिए । केही प्रदर्शनकारीले ‘अहमदियालाई काफिर घोषित गरिनुपर्छ’ लेखिएको टिसर्ट लगाएका थिए। ब्यानरहरूमा ‘अब’ कुनै पनि सम्प्रदायविरुद्ध उत्पीडन गर्न रोक लगाउने गरी कानुन बनाउन आह्वान गरिएको थियो ।
कट्टरपन्थी इस्लामिक विद्वानहरूले प्रायः अहमदियाहरूलाई विधर्मीका रूपमा निन्दा गर्छन्, किनकि उनीहरू मोहम्मदपछि पनि एक भविष्यवक्तामा विश्वास गर्छन्, जसलाई उनीहरू ईश्वरनिन्दा भन्छन् । प्रदर्शनमा सहभागी ५० वर्षीय मोहम्मद मामुन शेखले एएफपीसँग भन्नुभयो, “अहमदियाहरू हाम्रो भन्दा पूर्ण रूपमा फरक दृष्टिकोण राख्छन्, र त्यसैले उनीहरू हामीभन्दा फरक छन् ।” उहाँले थप्नुभयो, “उनीहरू हाम्रो देशमा अन्य धर्मका अनुयायीहरूजस्तै बस्न सक्छन्, तर मुसलमानको रूपमा होइन ।”
र्यालीमा भाग लिइरहेका एक १५ वर्षीय बालकले आफ्ना शिक्षकले उनलाई प्रदर्शनमा उपस्थित हुन प्रोत्साहित गरेको र ‘अहमदियाहरूले इस्लामिक धर्मलाई प्रदूषित गरिरहेका छन्’ भनी तर्क गरेको बताए ।
बंगलादेशमा अहमदिया समुदायका प्रवक्ता अहमद तशीर चौधरीले उनीहरूविरुद्धको धार्मिक तर्कहरूको खण्डन गर्दै भन्नुभयो, “धर्मलाई राजनीतिक हतियारको रूपमा प्रयोग गरिएको छ ।” बंगलादेशको कुल जनसंख्याको एक प्रतिशतभन्दा कम जनसंख्या अहमदियाको छ। चौधरीले भन्नुभयो, “यदि हाम्रो समुदायले जनसंख्याको दस प्रतिशत मात्र पनि भएको भए हेर्ने दृष्टिकोण नै फरक हुने थियो । अहमदियाहरूलाई राजनीतिक दलहरूले फरक व्यवहार गर्ने थिए ।” उहाँले थप्नुभयो, “आक्रमणको डरको बाबजुद समुदायका सदस्यहरूले आफ्नो विश्वास छोड्ने छैनन्।” “हामी हार मान्दैनौं,” उहाँले भन्नुभयो ।
