२०२६ मा ‘इल-११४-३००’ विमान क्षेत्रीय यातायातका लागि उपलब्ध गराउने रूसको योजना
मस्को, ३० कात्तिक । रूसले सन् २०२६ सम्ममा क्षेत्रीय उडानका लागि तीनवटा नयाँ ‘इल-११४-३००’ विमानहरू उपलब्ध गराउने योजना बनाएको छ । रूसका उद्योग तथा व्यापार उपमन्त्री जेन्नादी अब्रामेन्कोभले यसको जानकारी दिनुभएको हो ।
‘इल-११४-३००’ रूसमा निर्मित एक क्षेत्रीय टर्बोप्रप एयरलाइनर हो । जसलाई मुख्यतया छोटो र मध्यम दूरीका उडानहरूका लागि डिजाइन गरिएको छ । उपमन्त्री अब्रामेन्कोभका अनुसार यी विमानहरू विशेष गरी रूसको टाढा पूर्वी क्षेत्र, साइबेरिया र उत्तरी क्षेत्रमा सञ्चालन हुनेछन्, जहाँ विमानस्थलको पूर्वाधार सीमित छ र मौसमको अवस्था चुनौतीपूर्ण हुन सक्छ ।
अब्रामेन्कोभले विमान सञ्चालनका लागि वित्तीय मोडेल विकास गर्न विमान सेवा तथा लिजिङ कम्पनीहरूसँग सहकार्य भइरहेको पनि बताउनुभयो ।
इल-११४-३०० विमान इल-११४ टर्बोप्रप एयरलाइनरको आधुनिकीकरण गरिएको संस्करण हो । यसले पुराना अन-२४ विमान र विदेशी क्षेत्रीय जेटहरूलाई प्रतिस्थापन गर्ने उद्देश्य राख्दछ । छोटो र कच्ची रनवेबाट पनि सञ्चालन गर्न सकिने यी विमानहरू टाढाका र आर्कटिक क्षेत्रका चुनौतीपूर्ण वातावरणमा उपयुक्त मानिन्छन्। यसले रूसको दुर्गम क्षेत्रहरूमा हवाई यातायातको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
