शेख हसिना विरुद्धको मुद्दाको फैसला अघि देशभर तनाव
काठमाडौँ, कात्तिक ३० । बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले मुद्दामा फैसला सुनाउने तयारी गरिरहँदा देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । यो मुद्दा सन् २०२४ जुलाई-अगस्टमा विद्यार्थी नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा मानवता विरुद्धका कथित अपराधहरूसँग सम्बन्धित छ । हसिनाले भने आफूमाथि लागेका सम्पूर्ण आरोपहरू अस्वीकार गर्दै आउनुभएको छ ।
फैसला आउनुअघि नै देशको राजनीतिक वातावरण तनावपूर्ण बनेको छ । शेख हसिना नेतृत्वको बङ्गलादेश अवामी लिगले आइतबार बिहानदेखि देशभर दुई दिने बन्दको घोषणा गरेपछि सामान्य जनजीवन प्रभावित भएको छ । राजधानी ढाकामा ट्राफिक अत्यन्तै कम देखिएको छ भने केही क्षेत्रमा पटाखा विस्फोट भएको रिपोर्टसमेत आएको छ ।
आगामी आम चुनावले देशमा स्थिरता पुनःस्थापना गर्ने आशामा व्यवसायी तथा उद्योगीहरूले राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बिजिएमइए) का पूर्वअध्यक्ष काजी मोनिरुज्जमानले परिस्थितिलाई अत्यन्तै असहज भन्नुभएको छ । उहाँले स्वतन्त्र र निष्पक्ष निर्वाचनको अपेक्षा गर्दै निर्वाचित सरकारले व्यापार, सामाजिक समस्या तथा कानून–व्यवस्थालाई सुधार गर्ने आशा व्यक्त गर्नुभयो ।
सन् १९७१ को मुक्ति युद्धका एक स्वतन्त्रता सेनानीका रूपमा मोनिरुज्जमानले जनतालाई परेको असुविधाप्रति दुःख व्यक्त गर्दै सन् २०२६ को निर्वाचनले देशलाई नयाँ आशा दिने अपेक्षा गर्नुभयो। उहाँले सार्वभौमिकताको रक्षा गर्दै सबै छिमेकी राष्ट्रसँग सन्तुलित र मधुर सम्बन्ध राख्नु आवश्यक रहेको र यस क्षेत्रको शान्तिका लागि सबैले एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
भारतसँगको सम्बन्धलाई लिएर पनि मोनिरुज्जमानले विशेष जोड दिँदै भन्नुभयो, “भारतले सन् १९७१ मा हामीलाई अमूल्य सहयोग गरेको थियो। हाम्रो स्वतन्त्रता र सार्वभौमसत्तालाई सम्मान गर्दै भारतसँग सुदृढ सम्बन्ध कायम राख्नु आवश्यक छ ।”
गार्मेन्ट उद्योगबारे उहाँले अहिलेको अस्थिरताले उद्योगलाई जोखिममा पारेको र कुनै पनि अशान्तिले उद्योगलाई हानि पुर्याउन सक्ने बताउनुभयो । यो उद्योग विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत र महिलाहरूको ठूलो रोजगारको स्रोत भएकोले यसको सुरक्षा महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । अल्पसङ्ख्यकको प्रसङ्गमा मोनिरुज्जमानले आफू कुनै धार्मिक विभाजनमा विश्वास नगर्ने भन्दै सबै पहिले बङ्गलादेशी भएकोमा जोड दिनुभयो ।
यसैबीच, मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले अवामी लिग तथा यसका सम्बद्ध सङ्गठनहरूको गतिविधिमा प्रतिबन्ध लगाएदेखि पार्टी नेताहरूले अज्ञात स्थानबाट अनलाइनमार्फत कार्यक्रमहरूको घोषणा तथा प्रचार-प्रसार गरिरहेका छन् । सन् २०२४ जुलाईको विद्यार्थी नेतृत्वको आन्दोलनपछि शेख हसिनाको सरकार अपदस्थ भएको थियो र अगस्ट ५ मा उहाँ भारत प्रस्थान गर्नुभएको थियो। त्यसपछि मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनअनुसार सोही महिनामा भएको हिंसात्मक प्रदर्शनमा करिब १,४०० जनाको मृत्यु भएको हुनसक्ने उल्लेख छ ।
शेख हसिनाको नेतृत्वमा नै सन् १९७१ को मुक्ति युद्धमा भएका अपराधको मुद्दा चलाउन अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण स्थापना गरिएको थियो। सोही ट्रिब्युनलले उहाँको कार्यकालमा जमात-ए-इस्लामीका धेरै नेतामाथि युद्ध अपराधका मुद्दा दायर गरेको थियो ।
