घाँटीको सङ्क्रमण: हेलचेक्र्याइँ र जथाभावी औषधी सेवनले निम्त्याउँछ गम्भीर समस्या
विराटनगर, १ मङ्सिर। कोशी अस्पताल विराटनगरमा उपचारका लागि आएकी जनपथ टोलकी विनिता गौतमले आफ्नो हेलचेक्र्याइँका कारण घाँटीको सङ्क्रमणबाट ग्रसित हुनुपरेको बताइन्। नाक कान घाँटीको ओपिडीमा भेटिएकी गौतमले बोल्न अप्ठ्यारो महसुस गर्दै भनिन्, “सुरुमा सामान्य रूपमा घाँटी दुखेकाले औषधि पसलबाट पेनकिलर किनेर खाए, केही समय त ठीक भयो, फेरि समस्या उस्तै। धेरै दुखाइ भएर आएको त घाँटीको सङ्क्रमण भएर पीप जमिसकेको रहेछ।”
त्यस्तैगरी सोही अस्पतालको ओपिडीमै भेटिएका २१ वर्षीय युमेस गिरीले औषधि पसलेले चिसोको कारणले दुखेको भनि दुखाइ कम गर्ने औषधि दिएपछि फेरि समस्या उस्तै भएकाले अस्पताल आएको बताए। उनले भने, “बिहान उठ्दा घाँटी दुखेको महसुस भएकाले नजिकै मेडिकल पसलेको सल्लाहमा २–३ वटा पेनकिलर खाए पनि ठीक भएन र यहाँ जचाउन आउँदा थाहा भयो, इन्फेक्सन भइसकेको पो रहेछ।”
कोशी अस्पतालको नाक कान घाँटी रोग विशेषज्ञ डा. रौनक दाहालका अनुसार, सामान्यतया घाँटी दुख्ने बित्तिकै औषधि पसलमा गएर पेनकिलर, एन्टिबायोटिकको प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएपछि सङ्क्रमणको गम्भीर अवस्थामा मात्र बिरामी अस्पताल आउने गरेका छन्। उहाँ भन्नुहुन्छ, “के कारणले घाँटी दुखेको हो, सङ्क्रमण हो या होइन, यदि सङ्क्रमण भएमा कुन अवस्थामा छ? कुन औषधि कति मात्रामा सेवन गर्नेजस्ता विषयमा ध्यान नदिइ जथाभावी औषधि सेवन गर्नाले बिरामीको स्वास्थ्य निकै बिग्रँदै गएको छ।”
के कारणले हुन्छ घाँटीको सङ्क्रमण?
डा. दाहालका अनुसार घाँटीको सङ्क्रमण एउटै कारणले मात्र हुँदैन। प्रायजसो चिसोको कारणले घाँटीमा सङ्क्रमण हुने गर्दछ। यसबाहेक लामो समयसम्म फ्रिजमा राखिएका खानेकुरा, धूमपान, चिसो मौसम, धुवाँधुलो, प्रदूषित वातावरणजस्ता विभिन्न कारणले घाँटीको सङ्क्रमण गराउने गर्दछ। धुवाँधुलो साथै प्रदूषणयुक्त वातावरणमा रहने मानिसले सास फेर्ने क्रममा हावाको माध्यमबाट भाइरस, ब्याक्टेरिया प्रवेश भई विस्तारै घाँटीमा सङ्क्रमण गराउने गर्दछन्। यसले गर्दा विस्तारै घाँटीमा अप्ठ्यारोपन आउने, दुखाइ अनुभव हुने, निल्न गाह्रो हुनेजस्ता समस्या उत्पन्न हुने गर्दछन्।
घाँटीमा भाइरल वा ब्याक्टेरियाको प्रवेश भई त्यसले सङ्क्रमण गराउँछ। सामान्यतया भाइरल सङ्क्रमण हुँदा दुखाइसँगै घाँटीमा रातोरातो देखिने गर्दछ, भने ब्याक्टेरियाको कारणले भएको सङ्क्रमणले घाँटीमा सेतो पीप देखिने गर्दछ। घाँटीको सङ्क्रमणमा केही खास ब्याक्टेरिया जिम्मेवार रहने गर्दछ।
‘स्ट्रेप्टोकोकस’ नामक ब्याक्टेरिया अन्य ब्याक्टेरियाको तुलनामा घाँटीको सङ्क्रमण गराउन सक्रिय रहने गर्दछ। जसले गर्दा घाँटीमा अप्ठ्यारो महसुस हुने, यताउती गर्न पनि निकै कठिन हुने, अत्यधिक दुखाइ महसुस हुने, ज्वरो आउने, घाँटीभित्र रातो हुने गर्दछ। त्यसका साथै टन्सिलाइटिस हुने, कहिलेकाहीँ घाँटीबाट पीप निस्कने, घाँटीमै पीप जम्ने, निल्न गाह्रो हुने, बोल्न कठिन हुनेजस्ता लक्षण देखा पर्दछन्। सामान्य अवस्थामै उपचार गरे तत्काल निको हुने समस्यालाई हेलचेक्र्याइँ गरेमा त्यसको नतिजा गम्भीर आउन सक्ने भएकाले यस्ता लक्षण देखा पर्न साथ तुरुन्त उपचार गराइहाल्नुपर्छ।
एन्टिबायोटिक र पेनकिलरको दुरुपयोग
अधिकांश मानिसहरू सामान्य घाँटी दुखाइ महसुस हुनासाथ चिकित्सकको परामर्शबिना औषधि पसलेबाट किनेर एन्टिबायोटिक साथै पेनकिलरजस्ता औषधि सेवन गर्ने गर्दछन्। यसरी जथाभावी यस्ता औषधि सेवन गर्नाले हाल एन्टिबायोटिक तथा दुखाइ कम गर्नेजस्ता औषधिको अत्यधिक दुरुपयोग भइरहेको डा. दाहाल बताउनुहुन्छ। उहाँका अनुसार घाँटी दुख्नासाथ एन्टिबायोटिक तथा पेनकिलरको प्रयोग गर्नु उचित हुँदैन। कहिलेकाहीँ हड्डी आएको समस्याले पनि घाँटी दुख्ने गर्दछ। यस्तो अवस्थामा के कारणले घाँटी दुखेको?, घाँटीको सङ्क्रमण भएमा कुन अवस्थामा छ?, कस्तो औषधि सेवन गर्नेजस्ता जानकारीबिना आफूखुसी पेनकिलर, एन्टिबायोटिक औषधिको सेवन गर्नाले मुटु, मिर्गौला, कलेजो लगायतका संवेदनशील अङ्गहरूलाई असर पुगी नियमित कार्य गर्न सक्दैनन्। त्यसैले चिकित्सकको परामर्शबिना आफूखुसी यस्ता औषधिको सेवन गर्नु उपयुक्त हुँदैन।
कतिपय बिरामीहरूले चिकित्सकले दिएको एन्टिबायोटिक औषधिसमेत नियमपूर्वक सेवन गरेका हुँदैनन्। औषधि सेवन गर्ने क्रममा आराम महसुस हुनासाथ बढी औषधि किन सेवन गर्ने भन्ने ठानी आफूखुसी औषधि सेवनमा रोक लगाउने गर्दछन्। ब्याक्टेरिया तथा भाइरसलाई पूर्णरूपमा मार्न सेवन गरिने त्यस्ता औषधि मात्रा पूरा नगरी छोड्नाले फेरि सक्रिय भई सङ्क्रमण गर्न सक्ने भएकाले एन्टिबायोटिकको पूरा मात्रा सेवन गर्नुपर्दछ।
घाँटीको सङ्क्रमणले निम्त्याउने खतरा
घाँटीको सङ्क्रमण भएको समयमा यसलाई हेलचेक्र्याइँ गरेको खण्डमा यसले निकै खतरा निम्त्याउने भएकाले समयमै उपचार गराउन चिकित्सकले सुझाव दिएका छन्।
घाँटी दुख्ने, निल्न गाह्रो हुने, ज्वरो आउने, घाँटीभित्र रातो देखिने, टन्सिलाइटिस हुनेजस्ता लक्षण घाँटीको सङ्क्रमणका हुन्। यस्ता कुनै लक्षण देखा परेमा तुरुन्त सम्बन्धित चिकित्सक तथा स्वास्थ्य संस्थामा गई जचाइहाल्नुपर्छ। समयमै उपचार नभएमा बारम्बार टन्सिलाइटिस भई पीप जम्ने, रगतको माध्यमबाट सङ्क्रमणका जीवाणु मुटुको भल्वमा पुगेर भल्वलाई बन्द गरी भल्व फेर्नुपर्ने अवस्थासमेत आउनसक्छ। घाँटीमा पीप जमेर बसिरहँदा शल्यक्रिया गरेर जम्मा भएको पीपलाई निकाल्नुपर्ने हुन्छ।