पाठेघरको मुखको क्यान्सर निवारणका लागि स्क्रिनिङ र खोप विस्तारमा जोड
काठमाडौँ, १ मङ्सिर । आज नोभेम्बर १७, विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस, ‘आजैदेखि लागौँः पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नाराका साथ यस वर्ष पहिलो पटक यो दिवस मनाइएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखको क्यान्सर विश्वमा महिलामा लाग्ने चौथो मुख्य क्यान्सर हो। यसका कारण हरेक वर्ष विश्वभर छ लाख ६० हजार महिला प्रभावित हुन्छन् भने करिब तीन लाख ५० हजारको ज्यान जाने गरेको छ।
नेपालमा पनि महिलाको मृत्युको प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार रोकथाम गर्न सकिने भए पनि नेपालमा प्रतिदिन छ जना महिलामा यो क्यान्सर देखा पर्छ र चार जनाले ज्यान गुमाउँछन्।
मन्त्रालयका सचिव डा विकास देवकोटाले पाठेघरको मुखको क्यान्सर रोकथाम र निवारणका लागि सबै सरोकारवाला निकायलाई गम्भीर बनाउन यस नाराले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले समयमै स्क्रिनिङ, एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप विस्तार, जनचेतना वृद्धि र स्वास्थ्य प्रणाली सुदृढीकरणमा जोड दिनुपर्ने बताउनुभयो।
डा देवकोटाले पाठेघरको मुखको क्यान्सर निवारणका लागि गत वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोप समावेश गरी ९४ प्रतिशत किशोरीलाई निःशुल्क सेवा प्रदान गरिएको जानकारी दिनुभयो। यस वर्ष फागुनमा विद्यालय जाने कक्षा ६ का छात्रा र विद्यालयबाहिर रहेका १० वर्षका किशोरीलाई खोप दिने कार्यक्रम रहेको उहाँले बताउनुभयो।
सरकारले सन् २०३० सम्ममा ९० प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने, ३० वर्षभन्दा माथिका ९० प्रतिशत महिलाको स्क्रिनिङ गर्ने र क्यान्सर निदान भएका ९० प्रतिशत महिलाको उपचार गर्ने रणनीतिक लक्ष्य लिएको छ।
चिकित्सकका अनुसार ३० वर्षभन्दा माथिका सबै महिलाले र एचआइभी सङ्क्रमित महिलाले २५ वर्षको उमेरदेखि नियमित रूपमा पाठेघरको मुखको प्रारम्भिक जाँच गराउनुपर्छ। नेपाल जनसाङ्ख्यिक सर्वेक्षणअनुसार करिब ११ प्रतिशत महिलाले मात्र पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराएका छन्।
यसका प्रमुख चुनौतीहरूमा महिलामा सचेतनाको कमी, स्वास्थ्य सेवामा सीमित पहुँच, दक्ष जनशक्तिको अभाव, नियमित कार्यक्रमको कमी, कमजोर तथ्याङ्क व्यवस्थापन, सामाजिक लाजभाव र आर्थिक पक्ष रहेका छन्। यी कारणहरूले गर्दा धेरै महिलामा रोग ढिलो चरणमा पत्ता लाग्ने र मृत्यु दर उच्च रहने गरेको डा देवकोटाले औँल्याउनुभयो।