नेप्से परिसूचक सामान्य वृद्धि, कारोबार रकममा पनि सामान्य सुधार

काठमाडौँ, १ मङ्सिर । सोमबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन आइतबार सामान्य अंक घटेको नेप्से यस दिन ९.७८ अंक बढेर २५५०.३६ विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स १.४३ अंक, फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ। आइतबार ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा सोमबार ३३५ स्टकको ६१ हजार ६३५ पटकको कारोबारमा ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँ बराबरको ८८ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बन्दीपुर केबलकार एण्ड टुरिजम, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको हो। ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ९ प्रतिशत र जोशी हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य भने सर्वाधिक ९.९९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा साहस उर्जा शीर्ष स्थानमा रहेको छ, जसको १८ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोडभन्दा बढी र शिवम् सिमेन्ट्सको कारोबार रकम १६ करोड नाघेको छ।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशत बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने सामान्य घटेको छ।