सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक, सुरक्षा दायरामा आबद्ध हुनेको संख्या बढ्दो

काठमाडौँ, ८ मङ्सिर । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न सुरु गरेको सामाजिक सुरक्षा कोषमा करिब एक खर्ब रुपैयाँ बराबरको योगदान रकम जम्मा भएको छ।

कोषका अनुसार, हालसम्म कुल योगदान रकम ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार ३६२ रुपैयाँ पुगेको छ। कोषमा २२ हजार ३०९ रोजगारदाता र २६ लाख ४१ हजार १८९ योगदानकर्ता सूचीकृत भएका छन्। कोषले हालसम्म १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार ६८४ रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेको छ।

कोषको तथ्याङ्कअनुसार, औषधोपचार, स्वास्थ्य तथा मातृत्व दाबीमा २ अर्ब ५१ करोड २० लाख ९४ हजार ८२२ रुपैयाँ, दुर्घटना तथा अशक्तता दाबीमा २२ करोड ८६ लाख ५३ हजार ४७५ रुपैयाँ भुक्तानी भएको छ। त्यस्तै, आश्रित परिवार सुरक्षा दाबी रकम २९ करोड ७ लाख ७२ हजार ११६ रुपैयाँ र अवकाश दाबी रकम १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार २७१ रुपैयाँ बराबर रहेको छ।

सरकारले हालै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई समेत कोषमा अनिवार्य रूपमा सहभागी हुनैपर्ने व्यवस्था गरेपछि यसको प्रभावकारिता थप बढेको छ। स्वरोजगार श्रमिक, उद्योग प्रतिष्ठान तथा विभिन्न संघसंस्थामा कार्यरत कामदार तथा श्रमिकहरू कोषमा सहभागी भई योगदानकर्ता बन्न सक्छन्।

कोषमा नियमित रूपमा योगदान गर्नेले औषधोपचार, पेन्सन तथा दुर्घटना अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतका विभिन्न सुविधाहरू प्राप्त गर्छन्। कोषलाई अझ प्रभावकारी बनाउन थप सिर्जनशील योजनाहरू ल्याउनुपर्ने आवाज पनि उठ्दै आएको छ। कोषमा योगदान रकम बढ्दै जाँदा लगानीका अन्य सुरक्षित स्रोतहरूको खोजी गर्ने आवश्यकता बढेको देखिन्छ।