सिन्धु साहित्य संगमको दशौँ शृंखला भव्यताका साथ सम्पन्न, सिर्जनावाचनले साहित्यिक माहोल ततायो

काठमाडाैं, ८ मङ्सिर । सिन्धु साहित्य सङ्गमको सिर्जना वाचनकाे दशौँ शृंखला भर्चुअल माध्यमबाट शुक्रबार साँझ सम्पन्न भएको छ।

हरेक महिनाको पहिलो शुक्रबार आयोजना गरिने यस कार्यक्रममा सिन्धुका वरिष्ठ साहित्यकार तथा कविहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको संयोजकत्व साहित्यकार डा. कृष्ण सुवेदी भारद्वाज मित्रले गर्नुभएको थियो भने कवि त्रिलोचन आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा वरिष्ठ साहित्यकार एवं कविहरू जयराम पराजुली, जगन्नाथ आचार्य, चन्द्र प्रसाद न्यौपाने, डा. कृष्ण सुवेदी, त्रिलोचन आचार्य, रमेश प्रसाद पौडेल, शिवप्रसाद पौडेल, शान्ता दाहाल, राधिका सापकोटा, लक्ष्मण तिमिल्सिना, उद्धव प्रसाद प्याकुरेल, डा. बाबुराम ढुंगाना, यदुनाथ बसन्तपुरे, उपेन्द्र तिमिल्सिना, दिनेश दुलाल (सिन्धु सिरुवारे), दिपेन्द्र श्रेष्ठ र निर्मल बस्नेतको भर्चुअल उपस्थिति रहेकाे थियो।

रचना वाचनको निरन्तरता र साहित्यिक प्रवर्धन गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रममा पहिलो प्रस्तुतकर्ताका रूपमा कवि रमेश प्रसाद पौडेलले “गाउँ भित्रिएको शहर” शीर्षकको कविता प्रस्तुत गर्नुभएकाे थियाे। त्यसैगरी, कवि शिव प्रसाद पौडेलले “लक्ष्मीको महत्व”, कवि शान्ता दाहालले “मंसिरको बिहानी”, र कवि डा. बाबुराम ढुंगानाले “विकास गाउँ फक्र्यो” शीर्षकका कविताहरू वाचन गर्नुभएकाे थियाे।

कवि उद्धव प्याकुरेलले गजल सुनाउनुभयो भने कवि राधिका सापकोटाले “छानो नयाँ फेर्नु छ” शीर्षकको कविता प्रस्तुत गर्नुभयो। कवि उपेन्द्र तिमिल्सिनाले गीत प्रस्तुत गर्दा, कवि यदुनाथ बसन्तपुरेले “कवि र कविता” शीर्षकको रचना वाचन गर्नुभएको थियो। कवि लक्ष्मण तिमिल्सिनाले “चित्कार छन् खेदका” शीर्षकको कविता सुनाउनुभयो भने कवि सिन्धु सिरुबारेले “चिन्ता र चिता” शीर्षकको कविता प्रस्तुत गर्नुभयो। कवि दिपेन्द्र श्रेष्ठले पनि गीत सुनाएर माहोल तताउनुभयो।

कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ तथा पुराना कवि जयराम पराजुलीले “युवाहरु अघि सर” शीर्षकमा कविता सुनाउनुभयो। साहित्यकार चन्द्र प्रसाद न्यौपानेले कवि केदारमान व्यथितका बारेमा विस्तृत जानकारी गराउनुभयो। कवि जगन्नाथ आचार्यले “शहीदहरुको सम्झनामा” कविता प्रस्तुत गर्दा कार्यक्रम सञ्चालक कवि त्रिलोचन आचार्यले “समयले मसँग के माग्यो” शीर्षकको अविश्रान्त महाकाव्यबाट साभार गरिएको एउटा मन्दाक्रान्ता छन्दको कविता सुनाउनुभयो।

कार्यक्रमको अध्यक्षसमेत रहनुभएका कवि डा. कृष्ण सुवेदी भारव्दाज मित्रले कार्यक्रममा वाचित कविताहरूमाथि संक्षिप्त समीक्षत्मक टिप्पणी गर्नुभयो। उहाँले सहभागीहरूलाई धन्यवाद प्रदान गर्दै कार्यक्रम समापनको घोषणा गर्नुभयो। आगामी कार्यक्रम पौष महिनाको पहिलो शुक्रबार साँझ हुने जानकारी पनि गराएकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *