नेप्सेमा उछाल जारी: ४७.२२ अंकको वृद्धिसँगै कारोबार रकम ७ अर्ब नाघ्यो
काठमाडाैं, ८ मङ्सिर । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४७.२२ अंक बढेर २६४७.४४ विन्दुमा पुगेको छ।
आइतबारको वृद्धिलाई निरन्तरता दिँदै नेप्सेले यस दिन पनि सकारात्मक प्रदर्शन गरेको हो। यसैगरी, सेन्सेटिभ इण्डेक्स ७.८४ अंक, फ्लोट इण्डेक्स ३.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८१ अंकले बढेका छन्।
नेप्सेमा वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। आइतबार ६ अर्ब २८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा, सोमबार ३३० स्टकको ७९ हजार ७१४ पटकको कारोबारमा ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपैयाँ बराबरको १ करोड ४२ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सर्वाधिक वृद्धि र गिरावट:
यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा झापा इनर्जी, सागर डिष्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक एण्डष्ट्रीज रहेका छन्। सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरमूल्य करिब साढे ८ प्रतिशत र सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ८ प्रतिशतले बढेको छ। माबिलुङ्ग इनर्जीको शेयरमूल्य भने सर्वाधिक ४.४४ प्रतिशतले घटेको छ।
कारोबार रकम:
नेपाल लाइफ इन्स्योरेन्स २४ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबारसहित शीर्ष स्थानमा रहेको छ। नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २४ करोड रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको साढे २० करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ।
उपसमूहगत प्रदर्शन:
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेका छन् भने बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेका छन्।