ऐरीको अलराउण्डर प्रदर्शनमा सुदूरपश्चिमको तेस्रो जित
कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अलराउण्ड प्रदर्शनको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हासिल गरेको छ। मंगलबार भएको खेलमा कर्णाली याक्सलाई ४५ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रनको मध्यम योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको कर्णाली याक्स १६ दशमलव २ ओभरमा ९४ रनमै अलआउट भयो।
सुदूरपश्चिमको सुरुवात भने खराब रह्यो। इनिङ्सको पहिलो बलमै ओपनर क्रिस ब्राउनलाई कर्णालीका कप्तान सोमपाल कामीले बोल्ड गरे। ७३ रन बनाउँदा ५ विकेट गुमाएर दबाबमा परेको टोलीलाई कप्तान ऐरीले सम्हाले। छैटौं नम्बरमा ब्याटिङ गर्न आएका उनले २८ बलमा २ छक्का र १ चौकासहित सर्वाधिक ३९ रन बनाए। यस्तै, आरिफ शेखले २८ रन र क्रिस लिनले १८ रनको योगदान दिए।
बलिङतर्फ पनि दीपेन्द्र नै हाबी भए। उनले महत्त्वपूर्ण ४ विकेट लिँदै कर्णालीको ब्याटिङ लाइन ध्वस्त पारे। कर्णालीका लागि पवन सर्राफले २५ बलमा २७ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्। अघिल्लो खेलमा विष्फोटक शतक प्रहार गरेका मार्क वाट १७ रनमै समेटिए भने विदेशी खेलाडीहरूको प्रदर्शन फितलो रह्यो। कर्णालीका सोमपाल कामीले ३ विकेट लिए।
यो जितसँगै अपराजित रहेको सुदूरपश्चिम शीर्ष स्थानमा पुगेको छ भने ३ खेलमा दोस्रो हार व्यहोरेको कर्णाली छैटौं स्थानमा झरेको छ।