चीनलाई २८ वर्षपछि एसियाली खेलकुद फुटबलमा पदक: ‘युवा पुस्ताको भविष्य उज्ज्वल छ’ : प्रशिक्षक पुचे

प्रशिक्षक पुचेले सिनियर टोलीका मुख्य प्रशिक्षक शाओ जियाईलाई समर्थन गर्दै आगामी दिनमा सिनियर टोलीको प्रदर्शनमा पनि सुधार आउने विश्वास व्यक्त गर्नुभएको छ।

काठमाडौं । चीनले एसियाली खेलकुद को पुरुष फुटबलतर्फ झण्डै तीन दशक (२८ वर्ष) पछि पहिलो पदक जित्दै इतिहास रचेको छ। शनिबार जापानमा सम्पन्न कास्य पदकका लागि भएको प्रतिस्पर्धात्मक खेलमा उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चीनको अन्डर–२३ टोलीले कास्य पदक हात पारेको हो।

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो। यसअघि चीनले सन् १९९८ मा बैङ्कक एसियाली खेलकुदमा फुटबलतर्फ कास्य पदक जितेको थियो। चीनले हालसम्म एसियाली खेलकुदको पुरुष फुटबलमा स्वर्ण पदक जित्न सकेको छैन।

यसअघि फेब्रुअरीमा भएको अन्डर–२३ एसियन कपमा पनि उपविजेता बनेको चिनियाँ टोलीले युवा स्तरमा लगातार सफलता हासिल गरिरहेको छ। टोलीका स्पेनी मुख्य प्रशिक्षक एन्टोनियो पुचेले यो जितसँगै चिनियाँ फुटबलको नयाँ पुस्ताको भविष्य निकै उज्ज्वल रहेको दाबी गर्नुभएको छ।

“मेरो विचारमा यी खेलाडीहरूको भविष्य अत्यन्तै उज्ज्वल छ,” जितपछि प्रशिक्षक पुचेले भन्नुभयो, “हामीले उनीहरूको विकासमा लगातार काम गर्नुपर्छ। हामीसँग उच्च गुणस्तर र ठूलो हिम्मत भएका खेलाडीहरू छन्, जुन फुटबलमा निकै महत्त्वपूर्ण हुन्छ।”

सिनियर टोलीको प्रदर्शन कमजोर भइरहेका बेला युवा टोलीको यो सफलताले चिनियाँ फुटबलमा आशाको किरण छाएको छ। सन् २००२ मा एक पटक मात्र फिफा विश्वकप खेलेको चिनियाँ राष्ट्रिय टोली पछिल्लो समय मैत्रीपूर्ण खेलहरूमा कमजोर प्रदर्शन गर्दै आलोचनाको शिकार बनिरहेको छ।

प्रशिक्षक पुचेले सिनियर टोलीका मुख्य प्रशिक्षक शाओ जियाईलाई समर्थन गर्दै आगामी दिनमा सिनियर टोलीको प्रदर्शनमा पनि सुधार आउने विश्वास व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *