नेप्सेमा उछाल जारी, कारोबार रकममा पनि उल्लेख्य वृद्धि

काठमाडाैंं, १० मङ्सिर । बुधबार नेप्से परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ, जसले पछिल्ला तीन कारोबार दिनदेखिको बढ्दो क्रमलाई निरन्तरता दिएको छ। यस दिन नेप्से परिसूचक ९.६१ अंक बढेर २६६५.६० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.६४ अंकले बढ्दा फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंकले वृद्धि भएको छ।

कारोबार रकममा पनि यस दिन उल्लेख्य सुधार आएको छ। मंगलबार ५ अर्ब ८२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ३२२ स्टकको ९१ हजार ७०५ पटकको कारोबारमा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। झापा इनर्जी, सागर डिष्लिटरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। रिभर फल्स पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी र महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। यद्यपि, बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य यस दिन ३.९४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ, जसको ६२ करोड ४३ लाख ४३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्सको साढे २६ करोड रुपैयाँभन्दा बढी र हिमालयन डिष्टिलरीको २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। एनआरएन र शिवम् सिमेन्ट्को लाभांश आजसम्म कायम शेयरधनीहरूले पाउने भएकाले लगानीकर्ताहरू यी कम्पनीहरूतर्फ आकर्षित भएको देखिन्छ।

यस दिन १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.९९ प्रतिशतले बढेको छ। वित्त, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचकमा भने सामान्य गिरावट आएको छ।