बसिर अहमदको विष्फोटक ब्याटिङमा विराटनगरको रोमाञ्चक जित
काठमाडौँ, मङ्सिर १२ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भएको खेलमा विराटनगर किङ्ग्सले कर्णाली याक्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ। एक समय हारको नजिक पुगेको विराटनगरलाई बसिर अहमदको जुझारु ब्याटिङले नतिजा उल्टाउन मद्दत गर्यो ।
कर्णालीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक रहेको अवस्थामा बसिर अहमदले पाँचौँ बलमा छक्का प्रहार गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।
लक्ष्य पछ्याउने क्रममा विराटनगरको सुरुआत निकै कमजोर रह्यो । ओपनर जर्ज मुन्से खाता नखोली र लोकेश बम मात्र ६ रनमा पेभिलियन फर्किएपछि टोली दबाबमा परेको थियो । मध्यक्रमका साम हेजलेटले १६ र साहिल पटेलले १९ रन मात्र जोड्न सके ।
तर, सङ्कटमा परेको टोलीलाई उकास्न बसिर अहमदले कप्तानी पारी खेले । उनले ४३ बलमा ३ छक्का र ३ चौकाको मद्दतले ६२ रनको अर्धशतकीय योगदान दिए । १४औँ ओभरसम्म सुस्त रहेको विराटनगरले अन्तिम ५ ओभरमा आक्रामक ब्याटिङ गर्दै ७१ रन जोडेको थियो। यसक्रममा नारायण जोशीले पनि २५ रनको महत्वपूर्ण योगदान दिए ।
बलिङतर्फ कर्णालीका सोमपाल कामी र गुलशन झाले समान २-२ विकेट लिए भने पवन सर्राफ, नन्दन यादव र विलियम बोसिस्टोले १-१ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६० रन बनाएको थियो । कर्णालीका लागि प्रियान्क पञ्चालले सर्वाधिक ६३ रन बनाए भने विलियम बोसिस्टोले ४८ रनको अविजित पारी खेले । यी दुईबीच दोस्रो विकेटका लागि ९६ रनको साझेदारी भएको थियो । विराटनगरका सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले १-१ विकेट लिए ।