च्याम्पियन्स लिगमा गोलको कीर्तिमान: ‘जेपार्डी’ (खतरा) को त्रास कम, रोमाञ्च र गोलको वर्षा बढी

काठमाडौँ । सन् २०२४-२५ को सिजनदेखि युरोपेली फुटबल महासङ्घ (UEFA) ले लागू गरेको च्याम्पियन्स लिगको नयाँ ढाँचाले रोमाञ्चक खेलहरूसँगै गोलको ऐतिहासिक बाढी नै ल्याएको छ।

अघिल्ला दुई सिजनदेखि नै उकालो लागिरहेको गोलको सङ्ख्या यसपटक नयाँ उचाइमा पुगेको छ। यस सिजन अहिलेसम्म खेलिएका खेलहरूमा १८७ गोल भइसकेका छन्, जुन प्रतिखेल औसत ४.१६ गोल हो। यो च्याम्पियन्स लिगको इतिहासकै सबैभन्दा उच्च औसत हो।

“अहिलेसम्म जति गोल भएका छन्, त्यो साँच्चै पत्याउनै नसकिने खालको छ,” म्यानचेस्टर युनाइटेड तथा इङ्गल्यान्डका पूर्वविङ्गर एश्ले योङले बीबीसी रेडियो ५ लाइभसँग कुरा गर्दै भने, “आक्रमणकारीहरूले पाएका अवसरलाई गोलमा परिणत गर्न कुनै चुकेका छैनन्।”

त्यस्तै, लिभरपुलका पूर्वसंरक्षक स्टेफन वार्नोकले गोलको यो विशाल सङ्ख्यालाई “अभूतपूर्व” भनेका छन्।

के भन्छ तथ्याङ्क?

यो सिजन देखिएको प्रतिखेल गोलको प्रतिशत च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा बढी त छ नै, सिङ्गो युरोपियन कपको इतिहासमा पनि यो तेस्रो उच्च हो। यसभन्दा बढी औसत सन् १९५५-५६ (४.३८) र १९५९-६० (४.१९) को सिजनमा मात्र थियो।

मङ्गलबार मात्रै नौ वटा खेलमा ४० गोल भए। तर, गत साताको रेकर्ड झनै लोभलाग्दो थियो। गत साताको बुधबार एकै दिन ४६ गोल भएका थिए, जुन च्याम्पियन्स लिग इतिहासको तेस्रो सबैभन्दा बढी गोल भएको दिन बन्यो।

यसैगरी, गत साताको मङ्गलबार र बुधबार गरी दुई दिनमा कुल ७८ गोल भए, जसले गर्दा ‘म्याचडे–टु’ इतिहासकै सबैभन्दा बढी गोल भएको म्याचडे बन्न पुग्यो। यो अघिल्लो म्याचडे–वान (६९ गोल) भन्दा नौ गोल बढी हो।

बढी मनोरञ्जन = बढी गुणस्तर?

युइएफएले सन् २०२१ मा च्याम्पियन्स लिगको ढाँचा परिवर्तन गर्ने घोषणा गरेदेखि नै यसको प्रभावबारे विभिन्न बहस हुँदै आएका थिए। सन् २०२४-२५ सिजनबाट यो नयाँ ढाँचा पूर्ण रूपमा लागू भएपछि यसको समीक्षा झनै तीव्र बनेको छ।

सन् १९५५ मा छ टोलीको निमन्त्रणा प्रतियोगिताका रूपमा सुरु भई १९६७ मा ३२ टोलीको नकआउट चरणमा रूपान्तरण भएको यो प्रतियोगितालाई सन् १९९२ मा आधुनिक ‘च्याम्पियन्स लिग’ नाम दिइएको थियो। त्यसपछि ३२ टोलीलाई आठ समूहमा बाँडेर खेलाइने परम्परागत ढाँचा परिमार्जन गरी २०२४-२५ देखि ३६ टोली सहभागी ‘लिग फेज’ सुरु गरियो। जहाँ हरेक टोलीले आठ फरक-फरक टोलीसँग आठ वटा खेल खेल्छन्।

नयाँ ढाँचाअनुसार शीर्ष आठ टोली सोझै नकआउट (अन्तिम १६) मा पुग्छन् भने नवौँदेखि २४ औँ स्थानसम्म रहने १६ टोलीले प्ले-अफ खेलेर बाँकी आठ स्थानका लागि प्रतिस्पर्धा गर्छन्। तल्लो आठ टोली मात्र बाहिरिने भएकाले ३६ मध्ये २४ टोली अघिल्लो चरणको होडमा कायमै रहन्छन्।

यसरी शुरुआती चरणमा बाहिरिने खतरा  कम भएकाले टोलीहरू दबाबरहित भएर आक्रामक र खुला खेल खेल्न उत्साहित भएको विश्लेषण गरिएको छ।

तर, के धेरै गोल हुनु नै फुटबलको गुणस्तर बढ्नु हो त?

“मनोरञ्जन र रोमाञ्च त पक्कै बढेको छ, तर खेलको गुणस्तर नै बढेको हो वा होइन भन्न सकिन्न,” द टाइम्सका फुटबल लेखक टम आर्नोटले भने, “खेलहरू हेर्न एकदमै मज्जा आउँछ, तर यी खेलको महत्त्व कति छ भन्ने प्रश्न उठ्छ।”

उनी थप्छन्, “सुरुवाती चरणमा बाहिरिने डर कम भएकै कारण पिएसजी र बार्सिलोनाजस्ता टोलीहरू बराबरीका लागि नखेली जितकै लागि जाइलाग्छन्। आठमध्ये पाँच खेल जिते पुग्छ भन्ने भएपछि एउटा खेल हारे पनि केही फरक पर्दैन। यही लचकताका कारण मैदानमा गोलको वर्षा भइरहेको छ।”

प्रतियोगितामा बाहिरिने त्रास कम हुँदा समर्थकहरूले भरपुर मनोरञ्जन र गोलको उत्सव भने मनाउन पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *