एनपिएलका सबै खेलमा डिआरएस लागू हुने : खेल तालिका संशोधन
काठमाडौँ, कात्तिक ३ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सबै खेलमा डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रविधि प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताका सबै खेलमा उक्त प्रविधि लागू गर्ने जनाएको हो ।
डिआरएस प्रविधिको प्रयोगले मैदानमा अम्पायरबाट हुने निर्णयप्रति असहमति जनाउने टोलीलाई निर्णय पुनरावलोकनका लागि माग गर्न अवसर प्रदान गर्नेछ । यस व्यवस्थाअन्तर्गत टोलीले निर्धारित प्रक्रियाअनुसार अम्पायरको निर्णयलाई चुनौती दिँदै सम्बन्धित भिडियो दृश्यावलोकन गर्न सक्नेछन् ।
यसैबीच, डिआरएसको व्यवस्था लागू भएसँगै एनपिएलका खेल सञ्चालन हुने समय पनि हेरफेर गरिएको क्यानले जनाएको छ ।
क्यानले सार्वजनिक गरेको संशोधित तालिकाअनुसार दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ । त्यस्तै, एक खेल मात्र हुने दिनको खेल साँझ ५ बजे सुरु हुने जनाइएको छ ।
एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ । डिआरएसको प्रयोगले खेलका निर्णयलाई थप विश्वसनीय र पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
