ओमानविरुद्ध नेपाल १० रनले विजयी, लिग–२ मा तेस्रो जित
काठमाडौँ, २ कात्तिक । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले १० रनको रोमाञ्चक जित निकालेको छ । जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो ।
ओमानको अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको ओमानले सात विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो ।
ओमानका लागि जतिन्दर सिंहले ८९ र हमाद मिर्जाले ८७ रनको अर्धशतकीय पारी खेले । हसनैन साह ४० रनमा अविजित रहे भने हसनैन उल वहाबले १५ र कप्तान बिनायक शुक्लाले १३ रन बनाए ।
नेपालका दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान दुई विकेट लिए । कप्तान सन्दीप लामिछाने र नन्दन यादवले एक–एक विकेट हात पारे ।
नेपालको जितमा तीन ब्याटरले अर्धशतक बनाए । रोहितकुमार पौडेलले ८१ बलमा दुई चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ८० रन बनाए । दीपेन्द्रसिंह ऐरीले ६२ बलमा चार छक्का र तीन चौकासहित ६९ रन जोडे भने देव खनालले ६५ बलमा चार चौका र एक छक्कासहित ५७ रन बनाए ।
त्यस्तै, ईशान पाण्डेले २९ र बसिर अहमदले १७ रनको योगदान दिए । ओमानका साह फैसलले पाँच विकेट लिए ।
यस जितसँगै नेपाल लिग–२ को अङ्क तालिकामा छैटौँ स्थानमा उक्लिएको छ । नेपालले ३६ खेलमा १४ जित, २० हार र दुई खेलमा अङ्क बाँड्दै कुल ३० अङ्क जोडेको छ ।
