राष्ट्रिय र ए डिभिजन लिग यसै वर्ष गर्ने एन्फाको निर्णय

काठमाडौँ, मङ्सिर १५ गते । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसै वर्ष राष्ट्रिय लिग र त्यसको एक महिनामा सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको छ । एन्फा कम्प्लेक्समा सोमबार आपतकालिन बैठकले राष्ट्रिय लिग सम्पन्न भएको एक महिनापछि शीर्ष डिभिजनको लिग गर्ने निर्णय गरेको हो । राष्ट्रिय लिग पुस २५ गते सुरु हुँदैछ । पछिल्लो पटक सहिद स्मारक ए डिभिजन लिग २०७९ साल जेठमा भएको थियो ।

एन्फाले राष्ट्रिय लिगको आगामी एक वर्ष र शहिद स्मारक ए डिभिजन लिगको आगामी पाँच वर्षको लागि मार्केटिङ, टिकेटिङ, ब्रोडकास्टिङ, डिजिटल अधिकारको बोलपत्र आह्वान गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी साफ महिला यु–१९ प्रतियोगिता फागुन महिनामा पोखरामा आयोजना गर्ने तथा महिला फ्रेन्चाईज प्रतियोगितापनि आयोजना गर्ने निर्णय भएको छ । राष्ट्रिय महिला नकआउट प्रतियोगिता उदयपुर जिल्लामा सञ्चालन गर्ने तथा शहिद स्मारक राष्ट्रिय महिला लिगका लागि झापा, मोरङ्ग, मकवानपुर र सुनसरी जिल्लासँग समन्वय गरि स्थान तोक्ने निर्णय गरिएको छ ।

फिफा कार्यक्रमअन्र्तगत धुलिखेल, धनगढीमा नयाँ कृक्रिम घाँसे मैदान निर्माण गर्न र एन्फा कम्प्लेक्स सातदोबाटोको कृत्रिम घाँसे मैदान परिवर्तन गर्नेभएको छ । एफसी इक्वेल पिच कार्यक्रमअन्तर्गत दशरथ रंगशालामा हाइब्रिड घाँसे मैदान राख्न प्रस्ताव पेश गर्ने निर्णय गरिएको छ ।