बेगनास तालमा पर्यटक आगमन घट्दा डुङ्गा व्यवसायी चिन्तित
कास्की, १७ मङ्सिर । पोखराको बेगनास तालमा विगत दश वर्षयता स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या घट्दै गएपछि यहाँका पर्यटन तथा डुङ्गा व्यवसायीहरू चिन्तित बनेका छन्।
फेवातालमा आउने पर्यटकको न्यून सङ्ख्या मात्र बेगनास तालमा पुग्ने गरेकाले डुङ्गा व्यवसाय सङ्कटमा परेको हाे। ३७ वर्षदेखि डुङ्गा व्यवसाय गरिरहनुभएका मेघनाथ तिवारीका अनुसार, सार्वजनिक बिदाका दिन केही आन्तरिक पर्यटक देखिए पनि विदेशी पर्यटकको सङ्ख्या दुई-चार जनामा सीमित छ।
विसं २०७२ को भूकम्पसँगै पर्यटकको सङ्ख्या घट्दै गएको र कोरोना महामारी, अन्य घटनाक्रम तथा सडक पुनर्निर्माणका कारण पनि यो सङ्ख्या बढ्न नसकेको उहाँको भनाइ छ।
मुग्लिङ-पोखरा र तालचोक-बेगनास सडक पुनर्निर्माणका कारण बेगनास ताल पुग्ने पर्यटकको सङ्ख्या घटेको डुङ्गा व्यवसायी सोमराज कँडेलले गुनासो गर्नुभयो। बेगनास ताल डुङ्गा व्यवसायी समितिका पूर्वअध्यक्ष ढकनाथ कँडेलले डुङ्गा व्यवसायबाट दैनिकी नचलेपछि तीस प्रतिशत व्यवसायीले वैकल्पिक पेसा रोजेको बताउनुभयो। बाँकी व्यवसायी पनि व्यवसायसँगै अन्य काममा संलग्न हुन बाध्य छन्।
पोखरा महानगरपालिका–३१ मा रहेको बेगनास तालमा आन्तरिक पर्यटक नौका विहार र माछाका परिकारका लागि पुग्ने गर्छन्। माछाका परिकारका लागि बेगनास ताल वर्षौँदेखि प्रसिद्ध मानिँदै आएको छ। हाल सबै २८० वटा डुङ्गा सञ्चालनमा छैनन्, आलोपालो गरी चलाउने गरिएको छ। करिब २०० जना डुङ्गा व्यवसायीले पालो कुर्न एक साता पर्खनुपर्ने बाध्यता छ। “महिनाको रु तीन हजारले परिवार कसरी चल्न सक्छ?” पूर्वअध्यक्ष कँडेलले प्रश्न गर्नुभयो।
बेगनास डुङ्गा व्यवसाय समितिका अध्यक्ष रविराज कँडेलले एक घण्टा नौका विहार गरेबापत रु ७०० र पाइडलबोटको रु १५०० लिने गरिएको जानकारी दिनुभयो। तालमा तीनवटा मोटरबोट भए पनि ती बराह मन्दिरमा जान-आउनका लागि मात्र प्रयोग हुन्छन्। डुङ्गाबाट ताल वरपरका जङ्गल, गाउँ, अन्नपूर्ण हिमशृङ्खला र सुन्दरीडाँडाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। बेगनास तालमा विसं २०३७ देखि व्यावसायिक रूपमा डुङ्गा सञ्चालन हुँदै आएको हो। विसं २०५३ अघिसम्म सडक नखुल्दा डुङ्गा यातायातको साधनका रूपमा पनि प्रयोग हुन्थ्यो।
बेगनास तालका होटल व्यवसायी सोमबहादुर लालचनका अनुसार, पर्यटकको सङ्ख्या दश वर्षदेखि घट्दै गएको छ र अहिले यहाँको पर्यटन व्यवसाय स्वदेशी पर्यटकले मात्र धानिएको छ। “एक-दुई जना इजरायली पर्यटक मात्र आउँछन्, उनीहरूले पनि धेरै पैसा खर्च गर्दैनन्,” उहाँले भन्नुभयो। पोखराको फेवातालमा आउने २५ प्रतिशत पर्यटक मात्र बेगनास तालमा पुग्ने गरेमा यहाँको पर्यटन व्यवसाय चलायमान हुने उहाँको विश्वास छ।