भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक
कास्की, १७ मङ्सिर । पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै भियतनाममा सञ्चालन हुने युटिआर अन्तरराष्ट्रिय टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । यही मङ्सिर २२ देखि २८ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा २३ वर्षीय बास्तोलाले प्रतिस्पर्धा गर्ने भएका हुन् । उनी अमेरिकामा अध्ययनरत छन् । बास्तोला अन्तरराष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ)को विश्व वरियताका खेलाडी हुन् । पोखरामा आज आयोजित कार्यक्रममा उनले तयारी राम्रो रहेकाले भियतनाममा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
बास्तोलाका अनुसार युटिआर रेटिङ १ देखि १६ भित्रका खेलाडीबीच प्रतिस्पर्धा हुन्छ । “युटिआर टेनिस प्रोमा विश्वका तीन हजार वरियताभित्रका खेलाडी आमन्त्रण गरिन्छ । यसभित्रको खेलाडी मात्र खेल्न मिल्छ । चाहना भएर मात्र हुँदैन तोकिएको -याङ्किङ हुनुप¥यो । यो प्रतियोगिता खेल्ने म एक्लो नेपाली खेलाडी हुँ”, उनले भने । पोखराबाट आठ वर्षको उमेरमा टेनिस खेल जीवन सुरू गरेका बास्तोलाले १३ वर्षदेखि अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आएका छन् । हालसम्म उनले २२ राष्ट्रमा प्रतिस्पर्धा गरिसकेका छन् ।