एनपीएल–२ मा अर्धशतकको सङ्ख्या २८ पुग्यो, बेन चाल्र्सले जोडे ५० रन

काठमाडौँ, १८ मङ्सिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अर्धशतकको सङ्ख्या २८ पुगेको छ। आज काठमाडौँ गोर्खाजका बेन चाल्र्सले ५० रन पूरा गरेसँगै जारी सिजनमा अर्धशतकको सङ्ख्या २८ पुगेको हो।

बेन चाल्र्सले पोखरा एभेन्जर्सविरुद्धको खेलमा ४८ बलमा एक छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरे। योसँगै उनी अर्धशतक जोड्ने २४औँ खेलाडीसमेत बनेका छन्।

यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपराले सर्वाधिक तीन अर्धशतक प्रहार गरेका छन्। त्यस्तै, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई-दुई अर्धशतक बनाएका छन्।

सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, ईशान पाण्डे; विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद; पोखरा एभेन्जर्सका सुमित बर्मा, जिमी निशम, एडम रोसिङटन; चितवन राइनोजका डेविड मलान र अर्जुन साउद; काठमाडौँ गोर्खाजका जोन सिम्प्सन; कर्णाली याक्सका मार्क वाट; लुम्बिनी लायन्सका डार्सी सर्ट; तथा जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक/एक अर्धशतक बनाएका छन्।
जारी प्रतियोगितामा कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै शतक प्रहार गरेका छन्।