ओलम्पिक सोलिडेरिटी टेक्निकल कोर्स सुरु

काठमाडौँ, २१ मंसिर । अन्र्तराष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा नेपालमा ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स आइतबारबाट सुरु भएको छ ।

नेपाल उसु महासंघको आयोजनामा हुने ५ दिने सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्सको आइतबार पूर्व मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ पानसमा बत्ति बालेर उद्घाटन गरेका छन् । काठमाडौको डल्लुस्थित अर्थ क्वीक मेमोरियल मल्टिप्रपोज कभर्डहलमा सुरु टेक्निकल कोर्समा सातप्रदेश र विभागीय टिम गरि ६५ जना प्रशिक्षकहरु सहभागी भएको महासघंंका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी दिए । उसुको थाउलु विधाका प्रोफेसर लिन छाउमिन र सान्दाका एइ उईले प्रशिक्षण दिइरहेका छन् ।

टेक्निकल कोर्सको उद्घाटन गर्दै ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले यही कोर्सबाट सिकेका कुराबाट नयाँ र गुणस्तरीय खेलाडी उत्पादन गर्दै मेडलको संभावना पनि बनाउने गरि लाग्नुपर्ने सुझाव दिए । उनले यही कोर्सको बलमा भोली एशियाली होस् या दक्षिण एशियाली खेलकुद लगायत अन्र्तराष्ट्रिय मन्चमा बलियो दाबेदारी पेश गर्न सक्ने क्षमता बढाउन शुभकामना दिए ।

कोर्सबारे सामाजिक सन्जालमा हेरेपछि भारतीय उसु एसोसियसनबाट समेत प्रशिक्षकहरु आएका छन् । ट्रेनिङ कोर्समा भारतबाट समेत ६ जना प्रशिक्षक सहभागी छन् । भारतबाट थाउलोमा २ जना तथा सान्दामा ४ जना प्रशिक्षक सहभागी भएको महासचिव लामाले बताए । यो कोर्सले जापानमा हुने २० औँ एशियाड, १० औँ जुनियर विश्व उसु च्याम्पियनसीप, डकार युथ ओलम्पिक र उसु वल्डकप लगायतमा नेपालको उपलब्धिमूलक सहभागीतामा सघाउ पु¥याउने महासंघका सचिव निकेश श्रेष्ठले बताए । कोर्सको आगामी मंसीर २५ गते रोयल सिंगे होटलमा समापन हुनेछ ।