प्राकृतिक शीतभण्डारको प्रयोग : ‘अफसिजन’मा किबी बेचेर तेब्बर आम्दानी

 

पाँचथर, २३ मङ्सिर । पाँचथरको फिदिम नगरपालिका–३, लालीखर्कका अगुवा कृषक बलबहादुर राईले प्राकृतिक शीतभण्डार (रस्टिक स्टोर) को प्रयोग गरी किबी खेतीबाट मनग्य आम्दानी लिइरहनुभएको छ । उत्पादनको मुख्य याम (सिजन) मा सस्तो मूल्यमा बिक्री हुने किबीलाई प्राकृतिक विधिबाट भण्डारण गरी बेसिजन (अफसिजन) मा बिक्री गर्दा उहाँले तेब्बरसम्म बढी मूल्य पाउन सफल हुनुभएको हो ।

किबी खेतीको व्यावसायिक सीप सिक्न विसं २०७६ मा इलाम पुग्नुभएका राईले त्यहाँ प्राकृतिक शीतभण्डारको अवधारणाबारे जानकारी लिनुभएको थियो । सोही ज्ञानको आधारमा चार वर्षअघि शीतभण्डार निर्माण गर्नुभएका उहाँले मङ्सिरमा टिपेको किबीलाई चारदेखि छ महिनासम्म भण्डारण गरेर बजार पुर्‍याउने गर्नुभएको छ ।

यसरी बनाइन्छ प्राकृतिक शीतभण्डार
राईका अनुसार जमिनमा खाडल खनेर र काठ बिछ्याएर प्राकृतिक शीतभण्डार निर्माण गरिन्छ । भण्डारण गरिएको किबीलाई पानीबाट जोगाउन त्रिपालले ढाक्ने गरिन्छ । “मेरो अनुभवमा जमिनको अवस्था हेरेर शीतभण्डार बनाउन सकिन्छ, तर ठाउँअनुसार यसको प्रभावकारिता फरक पर्न सक्छ,” राईले भन्नुभयो, “मेरो जग्गा चिसो ठाउँमा छ र प्रत्यक्ष घाम नपर्ने भएकाले यहाँ शीतभण्डारले राम्रो काम गरेको छ ।”

उहाँको शीतभण्डारमा करिब ६० क्यारेट किबी अटाउँछ । मङ्सिरमा भण्डारण गरिएको किबी वैशाख–जेठसम्म पनि स्वाद र गुणस्तरमा कुनै कमी नआई ताजा रहने उहाँको अनुभव छ । विद्युतीय शीतभण्डारमा जस्तो विद्युत् अनियमित हुँदा बिग्रने डर यहाँ हुँदैन, प्राकृतिक चिसोपनले नै फललाई सुरक्षित राख्छ ।

मूल्यमा तेब्बर अन्तर
जिल्लामा आधुनिक शीतभण्डार (कोल्ड स्टोर) नहुँदा धेरै किसानहरू उत्पादन लगत्तै सस्तो मूल्यमा किबी बेच्न बाध्य छन् । तर, राईका लागि भने यो प्राकृतिक विधि वरदान सावित भएको छ ।

“अहिले सिजनमा ‘बी’ ग्रेडको किबीको मूल्य प्रतिकिलो रु ६० मात्र छ, तर यसलाई चैत महिनाभन्दा पछाडि बेच्दा प्रतिकिलो रु १५० सम्म पर्छ,” राईले भन्नुभयो, “यस वर्ष उत्पादन धेरै भएकाले नअटेको किबी सुरुमै बेचें, बाँकीलाई भण्डारण गर्दैछु ।” सिजन सकिएपछि बजार पुर्‍याउँदा मूल्यमा तेब्बरसम्म अन्तर पर्ने हुँदा आम्दानी पनि आकर्षक हुने गरेको छ ।

चुनौती र भविष्यको योजना
प्राकृतिक शीतभण्डारमा मुसाको प्रकोप भने मुख्य चुनौतीका रूपमा रहेको छ । मुसाले फल खाँदा वा कोपर्दा किबी कुहिने र गन्हाउने समस्या आउने गरेको राईले बताउनुभयो । मुसा नियन्त्रण गर्न सकेमा यो विधि अत्यन्तै लाभदायी हुने उहाँको भनाइ छ ।

भविष्यमा प्राकृतिक शीतभण्डारलाई अझ ठूलो र व्यवस्थित बनाउने योजना राईले बुन्नुभएको छ । उहाँले शीतभण्डार सुविधा नभएका अन्य क्षेत्रका कृषकहरूलाई पनि आ–आफ्नो ठाउँको हावापानी विचार गरेर परीक्षणका रूपमा यस्तो भण्डार निर्माण गर्न सुझाव दिनुभएको छ ।

वार्षिक आम्दानी र खेती विस्तार
राईले करिब १५ रोपनी क्षेत्रफलमा २०० बोट किबी लगाउनुभएको छ, जसमा धेरै समय टिक्ने ‘हेवार्ड’ जातको किबी रोपिएको छ । हाल ४० बोटले उत्पादन दिइरहेका छन् भने बाँकी बिरुवा हुर्कने क्रममा छन् । किबी खेतीबाट वार्षिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनुभएका राईले बिरुवा बढेसँगै आम्दानीमा पनि वृद्धि हुने अपेक्षा राख्नुभएको छ । पूर्वी नेपालमा किबीको उत्पादन बढेर मूल्य घट्दै गए पनि परम्परागत बालीको तुलनामा यसबाट फाइदा नै बढी हुने उहाँको निष्कर्ष छ ।