एमालेको महाधिवेशनका लागि यसरी हुँदैछ यातायात व्यवस्थापन: यी तीन स्थानमा हुनेछ पार्किङको व्यवस्था
काठमाडौँ, २३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधि तथा पर्यवेक्षकका सवारीसाधनहरूलाई व्यवस्थित गर्नका लागि तीन ठाउँमा पार्किङको व्यवस्था गरिएको छ।
एमालेका सचिव गोकर्ण विष्टको संयोजकत्वमा रहेको यातायात व्यवस्थापन समितिले सार्वजनिक तथा निजी सवारीसाधनहरूलाई व्यवस्थित रुपमा पार्किङ गर्नका लागि भक्तपुरका तीन ठाउँमा व्यवस्था मिलाएको हो।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष डेकनाथ गौतमले दिएको जानकारीअनुसार:
पश्चिमी क्षेत्रबाट आउने सवारीसाधन: काठमाडौँदेखि पश्चिमबाट आएका सवारीसाधनलाई गट्ठाघरबाट उत्तरतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरण र सिटिइभिटीको चौरमा राखिने व्यवस्था मिलाइएको छ।
पूर्वी क्षेत्रबाट आउने सवारीसाधन: काठमाडौँदेखि पूर्वतर्फबाट आएका सवारीसाधनलाई जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था मिलाइएको छ।
सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट लगायतका स्थानबाट आउने सवारीसाधन: यी स्थानबाट आएका सवारीसाधनलाई भने कमलविनायक करिडोरमा पार्किङको व्यवस्था मिलाइएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन यातायात व्यवस्थापन समितिले महाधिवेशनमा भाग लिन आएका सार्वजनिक तथा निजी सवारीसाधनलाई व्यवस्थापन गर्नका लागि नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको संयुक्त प्रतिनिधि रहनेगरी १५ सदस्यीय यातायात व्यवस्थापन समिति गठन गरेको थियो।
अध्यक्ष गौतमले हाल तीन हजार सार्वजनिक भाडाका सवारीसाधन र दुई हजार निजी सवारीसाधन पार्किङका लागि व्यवस्थापन गरिए पनि थप सवारीसाधन आएमा अन्य ठाउँमा पार्किङ गर्नेगरी व्यवस्था मिलाइएको बताउनुभयो। उहाँले महाधिवेशनमा आएका सवारीसाधन पार्किङका लागि समस्या नहुने उल्लेख गर्नुभयो।
आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुन लागेको एमालेको महाधिवेशनमा भाग लिन हाल ३० प्रतिशत नेता तथा कार्यकर्ता काठमाडौँ आइसकेको बताइएको छ।