सरकारको रोजगारी सिर्जनामा कमजोरी : दसैँमा पनि विदेशिने युवाको लर्को
सरकार कता? युवायुवती यता
काठमाडौँ, ५ कात्तिकः स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न नसक्दा बडादसैँजस्तो प्रमुख चाडपर्वका बेला पनि नेपाली युवायुवती वैदेशिक रोजगारीका लागि विदेशिने क्रम रोकिएको छैन । परिवारसँग बसेर चाडपर्व मनाउनुपर्ने समयमा सयौँ युवा रोजगारी र सुरक्षित भविष्यको खोजीमा विदेश प्रस्थान गरिरहेका छन् । यसले स्वदेशमा रोजगारी सिर्जना गर्ने र युवा जनशक्तिलाई देशभित्रै उपयोग गर्ने सरकारी प्रयासको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भीड देखिएको छ । रोजगारीका लागि विदेश जाने युवायुवतीको सङ्ख्या उल्लेख्य रहे पनि उच्च शिक्षा, पारिवारिक भेटघाट तथा व्यक्तिगत कामका लागि विदेश जाने नेपालीसमेत विमानस्थलमा भेटिएका छन् । चाडपर्वमा परिवारसँग रमाउने चाहनाभन्दा आर्थिक आवश्यकता र भविष्यको चिन्तालाई प्राथमिकता दिनुपर्ने बाध्यता धेरै युवाका लागि यथावत् छ ।
सरकारले स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने र युवाको सीप तथा क्षमताअनुसार काम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै आए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो छ । पर्याप्त रोजगारीको अभाव, न्यून पारिश्रमिक, सीमित अवसर र भविष्यप्रतिको अनिश्चितताका कारण युवा जनशक्ति विदेशतर्फ आकर्षित भइरहेको छ । आफ्नै देशमा श्रम र सीपको उचित मूल्य नपाउँदा विदेशिनुपर्ने अवस्थाले सरकारको रोजगारीसम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा रहेको चुनौती उजागर गरेको छ ।
रोजगारीका लागि विदेश जान लाग्नुभएका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेशिन बाध्य भएको बताउनुभयो । “योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दसैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन । आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदैछु,” उहाँले भन्नुभयो ।
यादवका अनुसार शिक्षा, स्वास्थ्य र घरपरिवारको दैनिक खर्च व्यवस्थापनसँगै आर्थिक अवस्था सुधार्ने तथा भविष्यका लागि बचत गर्ने उद्देश्यले विदेश जानुपर्ने अवस्था आएको हो । उहाँको अनुभवले स्वदेशमा रोजगारीको अवसर नहुँदा परिवारको जिम्मेवारी पूरा गर्नसमेत वैदेशिक रोजगारीमा निर्भर हुनुपर्ने बाध्यता देखाउँछ ।
विमानस्थलमा भेटिनुभएका गुल्मीका प्रकाश खत्रीले नेपालमा रोजगारीका अवसर सीमित हुनु र उपलब्ध काममा पर्याप्त सेवासुविधा नहुनु युवा विदेशिनुका प्रमुख कारण भएको बताउनुभयो । “नेपालमा रोजगारीको अवसर छैन, भए पनि सेवासुविधा न्यून छ । विदेश जानेमध्ये केहीको आर्थिक, शैक्षिक तथा सामाजिक अवस्था सुधारिएको देखिएकाले चाडपर्वमा रमाउनुभन्दा सुनौलो भविष्यका लागि विदेश रोज्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो ।
सरकारले युवालाई स्वदेशमै रोक्न रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, सीप विकास र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । कृषि, उद्योग, निर्माण, पर्यटन तथा साना उद्यममा सम्भावना हुँदाहुँदै पनि ती क्षेत्रमा पर्याप्त रोजगारीका अवसर विस्तार हुन नसक्दा युवा जनशक्तिको ठूलो हिस्सा विदेशमा श्रम गर्न बाध्य भइरहेको छ । रोजगारी सिर्जनाका सरकारी कार्यक्रमको प्रभावकारी अनुगमन, लगानीमैत्री वातावरण र श्रमको उचित मूल्य सुनिश्चित गर्न नसकिएसम्म वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन कठिन हुने सरोकारवालाको बुझाइ छ ।
छोरालाई विदेश पठाउन विमानस्थल आउनुभएका कैलालीका ठक्कर कलेलले वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न र जीवनस्तर उकास्न सहयोग पुर्याए पनि देशभित्रको सक्रिय जनशक्ति निरन्तर बाहिरिँदा दीर्घकालीन समस्या उत्पन्न हुन सक्ने बताउनुभयो । दक्ष तथा मेहनती युवा विदेशिँदा कृषि, उद्योग, निर्माण, पर्यटन र उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने उहाँको चिन्ता छ ।
दसैँका बेला पनि विमानस्थलमा देखिने युवाको लर्को केवल वैदेशिक रोजगारीप्रतिको आकर्षण मात्र होइन, स्वदेशमा सम्मानजनक रोजगारी र सुरक्षित भविष्यको अवसर खोजिरहेका नागरिकको बाध्यताको प्रतिबिम्ब हो । युवालाई विदेश जानबाट रोक्नेभन्दा पनि स्वेच्छाले स्वदेशमै बस्न, काम गर्न र उद्यम सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्नु सरकारको प्रमुख दायित्व हो । त्यसका लागि प्रतिबद्धता र घोषणामा सीमित नभई उत्पादन तथा रोजगारीमूलक क्षेत्रमा ठोस लगानी, पारदर्शी कार्यक्रम र परिणाममुखी कार्यान्वयन आवश्यक देखिएको छ ।
