साता दिनपछि वर्षाको सम्भावना : हल्लाको पछि नलाग्न मौसमविद्को आग्रह

मौसम पूर्वानुमान

काठमाडौँ, कात्तिक ५ । मौसम पूर्वानुमान महाशाखाले आगामी मङ्गलबारदेखि देशका केही भूभागमा वर्षा हुन सक्ने सम्भावना रहे पनि सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाका आधारमा त्रसित नहुन आग्रह गरेको छ । महाशाखाका मौसमविद् राजन महर्जनले वर्षाको सम्भावना देखिए पनि कुन स्थानमा कति र कति समयसम्म वर्षा हुन्छ भन्ने यकिन भइनसकेको बताउनुभयो । सामाजिक सञ्जालमा सातासम्म वर्षा हुने भन्दै फैलिएका सूचनाले विशेषगरी किसानमा त्रास सिर्जना गरेको उहाँको भनाइ छ ।

“आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ भन्ने निश्चित छैन,” उहाँले भन्नुभयो, “मौसमी प्रणाली परिवर्तनशील हुने भएकाले सामाजिक सञ्जालमा फैलिएका हल्लाको पछि नलाग्न र त्रसित नहुन सबैमा अनुरोध गर्दछौँ ।”

मौसमविद् महर्जनका अनुसार नेपालको सन्दर्भमा आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान तुलनात्मक रूपमा बढी विश्वसनीय हुने भए पनि एक सातासम्मको पूर्वानुमानमा अनिश्चितता रहन्छ। त्यसैले लामो अवधिको मौसमसम्बन्धी सूचनालाई अन्तिम निष्कर्षका रूपमा लिन नहुने उहाँले बताउनुभयो ।

आगामी दिनमा मौसमी प्रणालीको अवस्थाबारे थप विश्लेषण गरी वर्षाको सम्भावनासम्बन्धी सूचना सार्वजनिक गरिने महाशाखाले जनाएको छ । महाशाखाले मौसम तथा वर्षासम्बन्धी जानकारीका लागि विभागका आधिकारिक सूचनामा मात्र विश्वास गर्न र अपुष्ट समाचारका आधारमा अनावश्यक त्रास नलिन सबैलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *