मंगलबार नेप्सेमा झिनो सुधार, ६ दिनको गिरावटपछि बजार हरियो

काठमाडौँ, २३ मङ्सिर । लगातार ६ कारोबार दिनदेखि घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार सामान्य अंकले बढेर बन्द भएको छ।

आज नेप्से परिसूचक ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेको छ। यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.३० अंक, फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंकले बढेका छन्।

नेप्से बढे पनि कारोबार रकममा भने गिरावट आएको छ। अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा, आज ३३१ स्टकको ६२ हजार ६६५ पटकको कारोबारमा ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँ बराबरको ८७ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भयो।

आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। स्वस्तिक लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढ्यो भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढ्यो। आज मूल्य घटेका स्टकहरूको गिरावटदर ४ प्रतिशतभन्दा कम रह्यो।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो, जसको ३१ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। लक्ष्मी सनराइज बैंकको ११ करोडभन्दा बढी र राधी विद्युत कम्पनीको करिब १० करोड रुपैयाँको शेयर खरिदबिक्री भयो।

१३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो।