शेयर बजारमा नेप्सेसंगै कारोबार रकम पनि घट्यो

काठमाडौँ, २५ मङ्सिर । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन बुधबार सामान्य अंकले घटेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिँदै नकारात्मक बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक १.६६ अंक घटेर २६०७.३७ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.११ अंकले बढेको भए पनि फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंकले घटेको छ। समग्रमा बजारमा सुस्तता देखिएको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ। बुधबार ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा बिहीबार ३२६ स्टकको ६९ हजार ७२९ पटकको कारोबारमा ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको ७७ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। कारोबार रकममा करीब २४ करोड रुपैयाँले गिरावट आएको छ।

आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयरमूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो। यस्तै, ७.२५ प्रतिशत एसबिएल डिबेञ्चर २०९१ को मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ भने श्रीनगर एग्रीटेकको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ। अर्कोतर्फ, कारोबारमा आएको मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ८.४२ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १८ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यसैगरी, श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको करीब साढे १२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सागर डिष्टिलरीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।

समग्रमा १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचकमा सामान्य वृद्धि देखिएको छ भने अन्य उपसमूहहरूमा गिरावट आएको छ।