सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक, कारोबार रकममा भने कमी

काठमाडौँ, २९ मङ्सिर । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक ६.७४ अङ्कले बढेर २ हजार ६०१.६१ को बिन्दुमा कायम भएको हो। अघिल्लो दिन नेप्से २६०० विन्दुभन्दा तल झरेको थियो।

आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ५६ हजार १२२ पटक खरिदबिक्री हुँदा कुल ३ अर्ब ४४ करोड १९ लाख ३ हजार ७७० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने कमी आएको छ।

आजको कारोबारमा बैंकिङ (०.७२%), विकास बैंक (०.३३%), वित्त (०.९०%), जलविद्युत् (०.०६%), जीवन बीमा (०.३०%), उत्पादन तथा प्रशोधन (०.५७%), निर्जीवन बीमा (०.०७%) र व्यापार समूह (०.२७%) को उपसूचक बढेको छ।

यद्यपि, होटल तथा पर्यटन (०.११%), लगानी (०.०८%), म्युचुअल फण्ड (०.११%) र अन्य समूह (०.१७%) को उपसूचक भने घटेको छ।

आज स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य ६.९५ प्रतिशतले घटेको छ।