लगातार तेस्रो दिन नेप्सेमा सुधार, ४ अर्ब ५ करोडको कारोबार

काठमाडौँ, २ पुस । सेयर बजारमा नेप्से परिसूचक लगातार तेस्रो दिन पनि सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक ५.७० अंकले बढेर २६२५.७० विन्दुमा कायम भएको छ ।

बजार बढेसँगै कारोबार रकममा पनि उत्साहजनक वृद्धि भएको छ । मंगलबार ३ अर्ब २९ करोडको कारोबार भएकोमा बुधबार ३३२ कम्पनीको ८५ लाख ९८ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

कारोबारका क्रममा स्वस्तिक लघुवित्त र एसवाई प्यानल नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ । यस दिन सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको (२२ करोड ७८ लाख) भएको छ । १३ उपसमूहमध्ये १० उपसमूहको सूचक बढ्दा वित्त उपसमूहमा सबैभन्दा बढी १.७५ प्रतिशतको वृद्धि देखिएको छ ।