मिर्चैया नगरपालिकाको सेवा अस्पतालको पुरानो भवनबाट सुचारु
काठमाडौँ, पुस ४ । सिरहाको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट आफ्नो औपचारिक प्रशासनिक तथा सेवामूलक कार्य सुरु गरेको छ । ‘जेनजी’ आन्दोलनका क्रममा नगरपालिकाको मुख्य कार्यालय भवन आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्था स्वरूप बिहीबारदेखि सो भवनबाट सेवा प्रवाह थालिएको हो ।
नगरपालिकाको नियमित सेवा प्रवाहमा आएको अवरोधलाई मध्यनजर गर्दै प्रयोगविहीन अवस्थामा रहेको अस्पतालको पुरानो भवनलाई अस्थायी कार्यालयका रूपमा प्रयोगमा ल्याइएको हो । अस्पताल नयाँ भवनमा स्थानान्तरण भएपछि खाली रहेको उक्त संरचनालाई नगरपालिकाले सरसफाइ, सामान्य मर्मत तथा रङ्गरोगन गरी कार्यसञ्चालन योग्य बनाएको छ ।
नगर प्रमुख श्रवणकुमार यादवले विषम परिस्थिति बिच पनि नागरिकको सेवालाई प्राथमिकता दिँदै वैकल्पिक भवनको खोजी गरिएको बताउनुभयो । उहाँका अनुसार, जलेको पुरानो कार्यालय भवनको तुलनामा यो भवन थप फराकिलो र व्यवस्थित रहेको छ । “कार्यालय भवन ध्वस्त भएपछि उत्पन्न अन्योल चिर्दै हामीले सम्भावनाको खोजी गर्यौँ,” नगर प्रमुख यादवले भन्नुभयो, “अहिले एउटै कोठाबाट दुईवटासम्म शाखा सञ्चालन गरेर भए पनि सेवालाई निरन्तरता दिएका छौँ ।”