खेलकुद मन्त्रीद्वारा आइओएफटिसीको औपचारिक उदघाटन
काठमाडौँ, पुस ४ गते । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) औपचारिक उद्घाटन गर्नुुभएको छ । तीन दिने प्रतियोगिताका खेल भने बिहिबार नै सुरु भएको थियो । पहिलो दिन बोर्ड बे्रकिङमा २२ स्वर्ण पदकको छिनोफानो पनि भइसकेको छ ।
आइओएफटिसी नेपालको आयोजनामा राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भइरहेको आइओएफटिसी तेक्वान्दो प्रतियोगिताअन्तर्गत शुक्रबार क्यारुगी (फाइट) र पुम्से (फर्म) विधाअन्तर्गत विभिन्न इभेन्टमा प्रतिस्पर्धा भए । शनिबार प्रतियोगिताको समापन हुनेछ ।
प्रतियोगताका अन्तर्राष्ट्रय संयोजक तथा अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्काले शुक्रबार पुम्सेका सबै इभेन्ट सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार क्यारुगीमा पनि १४ वर्षमुनिका सबै प्रतिस्पर्धा पूरा भएको छ । प्रतियोगितामा दुई सय स्वर्ण, दुई सय रजत र चार सय काश्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।
बक्सर चन्द्रबहादुर सम्मानित
आयोजक आइओएफटिस नेपालले शुत्रबार उद्घाटन समारोहमा बक्सर चन्द्रबहादुर थापालाई सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्री गुप्ताले चन्द्रबहादुरलाई २५ हजार रुपियाँसहित सम्मानित गर्नुभयो
बक्सर थापाले गत हप्ता संयुक्त अरब इमिरेट्सको दुबईमा भएको आईबा पुरुष वल्र्ड बक्सिङ च्याम्पियनसिपअन्तर्गत ५४ केजी तौल समूहमा काश्य पदक जितेका थिए ।उहाँ आईवा वल्र्ड बक्सिङ्ग च्यमिम्पयनशिपमा काश्य पदक जित्ने पहिलो नेपाली हुन् ।
यसैगरी प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्त्री गुप्ताले तेक्वान्दो तथा खेलकर्मीलाई सम्मान पनि गर्नुभयो । आइओएफटिसी नेपालले २६ जनालाई सम्मानित गरेको हो । सम्मानित हुनेमा नेपालकी पहिलो महिला ब्ल्याक बेल्ट सुधासेन मल्ल, राखेपका पूर्व सदस्यसचिवद्वय विनोदशंकर पालिखे, केशव विस्ट पनि छन् । यसैगरी लव गोर्खाली, विपिन श्रेष्ठ, केविन महर्जन, राजमन्दिर श्रेष्ठ, सहदेव श्रेष्ठ, फिरोज शाक्य, विनोद श्रेष्ठ, ग्रान्डमास्टर इन्द्र गुरुङ, सिनियर मास्टर राजु क्षेत्री, मिनप्रसाद खनाल, सरोज गुरुङ, सिनियर मास्टर फनिन्द्र खड्का, सिनियर मास्टर पुष्प जोशी, मास्टर अर्जुनभक्त राई, सिनियर मास्टर अस्टबहादुर महर्जन, राजेश महर्जन, सुन बहादुर लामा, मास्टर अशोक खड्का, बलराम लामा, सिनियर मास्टर नवीन खड्का, जनार्जन ढुङगेल र सिनियर मास्टर हरि तामाङ रहेका छन् । यसैगरी सिनियर मास्टर राष्ट्र राईलाई पनि मरणोपरान्त सम्मान गरिएको थियो ।