दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप

५ लाख राशिको ‘मिस्टर महानगर’का लागि आवेदन खुला

काठमाडौँ,  पुस ५ । काठमाडौँ महानगरपालिका वडा नं. २२ को आयोजनामा आगामी वर्ष २०८३ जेठ २९ र ३० गते ‘दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप’ सञ्चालन हुने भएको छ । ‘व्यायाम गरौँ, स्वस्थ रहौँ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूका लागि औपचारिक आह्वान गरिएको छ ।

वडा कार्यालयले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको विस्तृत विवरण सार्वजनिक गरेको हो । वडाध्यक्ष एवं महानगरपालिकाको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनका अनुसार यस वर्ष पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरिएको छ । ओभरअल च्याम्पियन (मिस्टर महानगर) ले नगद ५ लाख रुपियाँ, ट्रफी र ब्यानेट प्राप्त गर्नेछन् ।

गत वर्ष ७५ हजार रुपैयाँ रहेको प्रत्येक तौल समूहको प्रथम पुरस्कार यस वर्ष बढाएर १ लाख रुपियाँ पुर्‍याइएको छ । साथै, यसपटकदेखि महिलाहरूका लागि ‘एथलेटिक्स फिजिक्स’ विधा समेत थप गरिएको छ, जसमा प्रथम हुनेले १ लाख २५ हजार रुपियाँ प्राप्त गर्नेछन् । पुरुषतर्फ ६ वटा तौल समूह (५५ देखि ७५ केजी माथि), दुई वटा स्पोर्ट्स फिजिक्स र एक ओभरअल गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष महर्जनले स्वास्थ्योपचारका लागि अस्पताल बनाउनुभन्दा नागरिकलाई निरोगी राख्न खेलकुद र व्यायाममा लगानी गर्नु वडाको प्राथमिकता रहेको बताउनुभयो । “हामीले उपचारका लागि अस्पताल बनाउनुभन्दा निरोगी हुने कार्यक्रम र खेल मैदान निर्माणमा जोड दिएका छौँ,” उहाँले भन्नुभयो । वडाले बुद्धिचाल, पौडी र विभिन्न खेल विधाका खेलाडीहरूलाई प्रोत्साहन गर्दै आएको जानकारी समेत उहाँले दिनुभयो ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य र काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा यो प्रतियोगिता हुन लागेको हो । फिटनेस संघका अध्यक्ष सुरेश सुवेदीले यस प्रकारका प्रतियोगिताले स्वस्थ समाज निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा भाग लिनका लागि काठमाडौँ महानगरपालिकाभित्रको स्थायी वा अस्थायी बासिन्दा हुनुपर्ने प्रावधान राखिएको छ । प्रतियोगिताको पहिलो दिन तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रिजजिङ र फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।