टुँडिखेलमा विश्व ध्यान दिवस भव्य रूपमा मनाइयो: विद्यालयमा ध्यान र योग समावेश गरिने

काठमाडौँ, ६ पुस । ‘विश्व शान्ति र सद्भावका लागि ध्यान’ भन्ने मूल नाराका साथ आज काठमाडौँको टुँडिखेलमा दोस्रो विश्व ध्यान दिवस विशेष समारोहका साथ मनाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित मूल समारोह समितिले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरू, योग साधक र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै मूल समारोह समितिका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले योग र ध्यानको महत्त्वलाई मध्यनजर गर्दै यसलाई विद्यालय तहको अतिरिक्त क्रियाकलापमा समावेश गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ध्यान र योगलाई अब पाठ्यक्रमको अभिन्न हिस्सा बनाउनुपर्छ । यसले विद्यार्थीको मानसिक विकासमा सहयोग पुर्‍याउनुका साथै नेपाललाई ध्यान पर्यटनको केन्द्रका रूपमा विकास गर्न मद्दत पुग्नेछ ।”

ओशो तपोवनका स्वामी आनन्द अरुणले विश्वका आर्थिक रूपमा सम्पन्न मुलुकहरूमा समेत मानसिक अशान्ति बढिरहेको चर्चा गर्दै नेपाललाई विश्वकै ध्यान केन्द्रका रूपमा स्थापित गर्न सकिने सम्भावना औँल्याउनुभयो ।

समारोहमा ‘आर्ट अफ लिभिङ नेपाल’ की प्रशिक्षक डा. कञ्चन घिमिरे र ब्रह्मकुमारी ध्यान केन्द्रका प्रशिक्षक रामसिंह ऐरले सहभागीहरूलाई ध्यानको प्रयोगात्मक अभ्यास गराउनुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घले गत वर्ष डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’ का रूपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि यस वर्ष विविध कार्यक्रमका साथ यो दिवस मनाइएको हो । कार्यक्रममा योग र ध्यानको माध्यमबाट तनाव व्यवस्थापन र आन्तरिक शान्ति प्राप्त गर्ने उपायहरूका बारेमा समेत चर्चा गरिएको थियो ।