साताको पहिलो दिन नेप्सेमा करिब २० अंकको गिरावट, कारोबार रकम साढे ४ अर्बमा खुम्चियो
काठमाडौँ, ६ पुस । शेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकको गिरावट देखिएको छ। अघिल्लो हप्ताको अन्तिम दिन (बिहीबार) ओरालो लागेको नेप्से परिसूचकले यस हप्ताको सुरुआतमा पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो।
आइतबार नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा बन्द भएको छ। नेप्सेसँगै यस दिन सेन्सेटिभ इण्डेक्स १.९६ अंक, फ्लोट इण्डेक्स १.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंकले ओरालो लागेका छन् ।
बजार परिसूचक घट्दा कारोबार रकममा पनि केही गिरावट आएको छ। गत बिहीबार ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आइतबार ३४५ कम्पनीका १ करोड १२ लाख ९९ हजार कित्ता शेयर ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँमा किनबेच भएको छ। यस दिन कुल ७० हजार ५७६ पटक कारोबार भएको थियो।
बजार ओरालो लागे पनि ‘एसवाई प्यानल नेपाल’को शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। उक्त कम्पनीको शेयर मूल्य ६२ रुपैयाँ २० पैसाले बढेर प्रतिकित्ता ६८४ रुपैयाँ ८० पैसा पुगेको छ। त्यस्तै, १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ९.८३ प्रतिशत र ९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यता, सिन्धु विकास बैंकका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन्। सो बैंकको शेयर मूल्यमा १० प्रतिशतको गिरावट आउँदै नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा ‘स्वस्तिक लघुवित्त वित्तीय संस्था’ शीर्ष स्थानमा रहेको छ। उक्त लघुवित्तको १३ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। यस्तै, बलेफी हाइड्रोपावरको करिब १२ करोड र सन नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै १२ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहमा सामान्य सुधार देखिए पनि होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.६३ प्रतिशतले घटेको छ।