देउवा भेट्न महाराजगञ्ज पुगे ओली: संसद पुनःस्थापना र राजनीतिक निकासबारे निर्णायक संवाद
काठमाडौँ, ७ पुस । मुलुकको राजनीतिक अवस्था तरल बनिरहेका बेला प्रमुख दुई दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उहाँको निवास महाराजगञ्ज पुग्नुभएको हो ।
भेटमा अध्यक्ष ओलीसँगै एमाले महासचिव शंकर पोखरेल पनि सहभागी हुनुहुन्छ भने कांग्रेसका तर्फबाट सभापति देउवा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी हुनुहुन्छ ।
पछिल्लो समय प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । एमाले र कांग्रेस दुवै दल संसद पुनःस्थापनाको पक्षमा उभिएका छन् । यसअघि मंसिर १० गते दुई नेताबीच भएको भेटवार्तापछि नै कांग्रेसका सांसदहरूले संसद पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । एमाले भने त्यसअघि नै संस्थागत रूपमा अदालत पुगिसकेको थियो ।
आजको भेटमा अदालतमा विचाराधीन मुद्दा, आगामी रणनीति र सम्भावित नयाँ सत्ता समीकरणका बारेमा घनिभूत छलफल भइरहेको स्रोतले जनाएको छ ।
भदौमा भएको ‘जेनजी’ आन्दोलन र त्यसपछि बदलिएको राजनीतिक परिदृश्यपछि देउवा र ओलीबीच भएको यो दोस्रो औपचारिक भेट हो । यसअघि मंसिर १० मा ओली पत्नी राधिका शाक्यसहित देउवा निवास पुग्नुभएको थियो ।