सेयर बजारमा झिनो सुधार, परिसूचक २५८५ विन्दुमा पुग्दा कारोबार रकम भने घट्यो
काठमाडौँ, ९ पुस । साताको अन्तिम कारोबार दिन बुधबार धितोपत्र बजार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेर बन्द भएको छ । अघिल्लो दिन मङ्गलबारको वृद्धिलाई पछ्याउँदै बुधबार नेप्से परिसूचक १.३७ अङ्कले बढेर २५८५.८७ विन्दुमा कायम भएको हो ।
परिसूचकसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ०.९४ अङ्कले बढेको छ । यस्तै फ्लोट इण्डेक्स ०.१७ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अङ्कले सकारात्मक देखिएका छन् ।
बजार परिसूचकमा सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही कमी आएको छ । मङ्गलबार ३ अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बुधबार ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभर कुल ३३४ कम्पनीका ७२ लाख २४ हजार कित्ता सेयर ६२ हजार ७६८ पटक खरिदबिक्री भएका छन् ।
बुधबार इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सो कम्पनीको सेयर मूल्य ५.३२ प्रतिशतले वृद्धि भएको छ । यस्तै नेशनल हाइड्रोपावर र हिम स्टार ऊर्जा कम्पनीको मूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ । अर्कातर्फ, ग्रामीण विकास लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयर धनीले ४ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।
कारोबार रकमका आधारमा बुधबार एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १४ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । यस्तै मञ्जुश्री फाइनान्सको साढे १२ करोड र तेह्रथुम पावर कम्पनीको साढे ९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
बजारमा रहेका १३ उपसमूहमध्ये बुधबार ६ वटाको सूचक बढेको छ भने ७ वटा उपसमूह घटेका छन् । बैंकिङ, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचकमा सामान्य सुधार देखिएको छ । अन्य ७ उपसमूह भने सामान्य ओरालो लागेका छन् ।