९औँ राष्ट्रिय महिला भलिबल पुस २३ देखि, विजेताले ५ लाख पाउने
काठमाडौँ, १० पुस । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा आगामी पुस २३ गतेदेखि नवौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको तयारी र पुरस्कार राशिका बारेमा जानकारी दिएको हो । प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुनेछ ।
नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा हुने यस प्रतियोगितामा पाँचवटा विभागीय तथा प्रतिष्ठित क्लबहरूले सहभागिता जनाउने भएका छन् । सहभागी हुने टोलीहरूमा: साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, र एभरेष्ट भलिबल क्लब रहेका छन् ।
आयोजकका अनुसार सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’का आधारमा खेलहरू सञ्चालन गरिनेछ ।
यस पटक प्रतियोगिताको पुरस्कार राशिमा निकै आकर्षक वृद्धि गरिएको छ । प्रथमलाई : ५ लाख रूपैयाँ नगद,
द्वितीयलाई : २ लाख ५० हजार रूपैयाँ नगद, तृतीयलाई : १ लाख २५ हजार रूपैयाँ नगद रहेका छन् ।
यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रूपैयाँ र अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । विधागततर्फका उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रूपैयाँ पाउनेछन् भने हरेक खेलको ‘प्लेयर अफ द म्याच’ले १५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष रञ्जन खड्काले जानकारी दिनुभयो ।