अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना : चालकको मृत्यु, १६ जना घाइते

अर्घाखाँची, ११ पुस । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा विद्यार्थी सवार एक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी बोकेर हिँडेको लु २ च ५१७९ नम्बरको जिप शुक्रबार भूमिकास्थान–७ स्थित छिर्लिङ खोला नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर जिप चालक भूमिकास्थान–१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको छ । धनचौरबाट नुवाकोटतर्फ जाँदै गरेको जिप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

नगरपालिकाले आजदेखि आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन जाँदै गरेका विद्यार्थीहरू दुर्घटनामा परेका हुन् । विद्यालयका खेलाडी विद्यार्थी बोकेको जिप दुर्घटना भएपछि नगरपालिकाले शोकस्वरूप आजका लागि तय गरिएका प्रतियोगिताका सम्पूर्ण खेलहरू स्थगन गरेको छ ।

दुर्घटनामा घाइते भएका १६ जनालाई तत्काल उद्धार गरी अर्घाखाँची अस्पताल पुर्‍याइएको छ । घाइतेहरूको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर हुनसक्ने चिकित्सकहरूले बताएका छन् ।

प्रहरीले दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले उद्धार कार्य गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *